Banner Nepal
आजदेखि प्रस्तावित राजदूतको सुनुवाइ हुँदै, चार जनालाई बोलाइयो

काठमाडौं । प्रस्तावित १७ जना राजदूतको सुनुवाइ आजदेखि सुरु हुँदैछ ।  संसदीय सुनुवाइ समितिको बैठक बिहान ११ बजे बस्ने संसदीय सुनुवाइ समिति सभापति ईश्वरीदेवि न्यौपानेले जानकारी दिइन्।

समितिले आजको सुनुवाइ विभिन्न चार देशका लागि प्रस्तावित नेपाली राजदूतहरुको सुनुवाइ गर्ने कार्यसुचि रहेको जनाएको छ। पहिलो दिन सुनुवाइका लागि चीनका लागि प्रस्तावित प्राडा कृष्णप्रसाद ओली, भारतका लागि शंकर शर्मा, जर्मनीका लागि डा शैल रूपाखेती र डेनमार्कका लागि प्रस्तावित सुम्निमा तुलाधरलाई बोलाइएको छ ।

यसअघि शुक्रबार बसेको समितिको बैठकमा प्रस्तावित राजदूतविरुद्ध परेका उजुरीमाथि छलफल भएको थियो। 

छलफलमा उजुरीकर्ताहरुलाई बोलाइएको थियो। प्रस्तावित राजदूतविरुद्ध ९ वटा उजुरी परेका छन्।

उजुरीकर्तामध्ये अधिकांशले संविधानको मर्म र भावनाअनुरुप समावेशी सिद्धान्तलाई आत्मसात नगरिएको भन्दै सिफारिस सच्याउन माग गरेका थिए। 

गत साउन १४ गतेको मन्त्रिपरिषद् बैठकले विभिन्न मुलुकका लागि १७ जना राजदूत सिफारिस गरेको थियो।

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update