काठमाडौं । सरकारले एकनारायण अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हाल गृह मन्त्रालयको सचिव रहेका अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको हो ।
वरीयतामा चौथो नम्बरमा रहेका गृहसचिव अर्याललाई मुख्यसचिव नियुक्त गरेको हो।
मुख्य सचिव लीलादेवी गड्तौला शुक्रवारदेखि अवकाशमा जान लागेकाले सरकारले आज मुख्यसचिव नियुक्त गरेको हो।
कार्यक्षमताको आधारमा अर्याललाई मुख्यसचिवको जिम्मा दिने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।
निजामती प्रशासनको नेतृत्व गर्ने जिम्मा पाएका अर्याल कर्मचारी वृत्तमा निर्भीक, स्वच्छ छविका एवं हक्की प्रशासकको रूपमा चिनिन्छन् ।
गृह मन्त्रालयको सचिव बन्नुअघि नै उनले विभिन्न जिम्मेवारी कुशलता पूर्वक निर्वाह गरेका थिए ।
निजामती सेवामा निर्भीक, इमानदार र निर्णय क्षमतामा अर्याल अब्बल मानिन्छन् । गृहमन्त्रालयको जिम्मेवारी पाएको ६ महिना नहुँदै सरकारले अर्याललाई मुख्यसचिवको जिम्मेवारी सुम्पिएको हो । गृहमन्त्रालयमा आउनु अघि अर्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिव थिए ।
प्रधानमन्त्री कार्यालयमा रहदा अर्यालले कार्यालयलाई चुस्त बनाउने भन्दै दरबन्दी कटौतीमार्फत आर्थिक दायित्व घटाउने कामको सुरुआत गरेका थिए । त्यस्तै, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारीमा रहदा पनि अर्यालले उल्लेख्य सुधारका काम गरेको कर्मचारीहरु बताउछन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव हुनुअघि उनी काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत थिए । महानगरमा रहँदा अनावश्यक भत्ता, सुविधा र खर्च नियन्त्रण एवं कटौती गरेर राज्य कोषको रकम बचाउने काम गरेको भन्दै उनको प्रशंसा भएको थियो ।
अनलाइनबाट राजस्व सङ्कलन, घरको नक्सा डिजिटालाइजेसन, विभागीय प्रमुखहरूसँग कार्यसम्पादन करारजस्ता प्रमुख काम उनले महानगरपालिकामा रहँदा गरे । अर्यालकै पालामा महानगरको आफ्नै भवन निर्माण गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको थियो ।
सचिव हुनुअघि अर्याल भारतको कलकत्तामा नेपाली महावाणिज्यदूत थिए । महावाणिज्यदूत छँदा उनले सुरु गरेको ‘इलेक्ट्रिक कार्गो ट्र्याकिङ सिस्टम’को चौतर्फी प्रशंसा भएको थियो ।
२०७२ सालको भूकम्पका बेला उनी काठमाडौँको सीडीओको जिम्मेवारीमा थिए । भूकम्पका बेला कालोबजारी गरी बजारमा अभाव सिर्जना गर्ने उच्च घरानाका व्यापारीको गोदाममा छापा मारी लुकाएर राखेको खाद्य सामग्री जफत गर्नुका साथै व्यापारीमाथि मुद्दा चलाउने काम पनि अर्यालले गरेका थिए ।
व्यापक दबाबका बाबजुद कालोबजारीमा संलग्न उच्च घरानाका व्यापारीमाथि कारबाही अघि बढाएपछि अर्यालको प्रशंसा चुलिएको थियो ।