काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतामाथि हुन सक्ने आक्रमणका लागि पार्टी संगठनलाई ससक्त बनाउन निर्देशन दिएका छन् ।
पार्टीको सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका ओलीले सार्वजनिक कार्यक्रममा नेतामाथि हुन सक्ने हुल हुज्जत र नाराबाजी विरुद्ध प्रतिकार गर्न संगठनलाई ससक्त बनाउन निर्देशन दिएका हुन् ।
मुख्य दल र केही नेताहरूमाथि केन्द्रीत रहेर अराजकतावादी शक्तिहरू अघि बढेको भन्दै पार्टी संगठनलाई बलियो बनाउन नेताहरूलाई निर्देशन दिएका हुन्।
बिहीबार बसेको पार्टीको सचिवालय बैठकमा अध्यक्ष ओलीले आफूहरूको अगाडि चुनौती थपिँदै गएको बताएका थिए।
गत सोमबार काठमाडौँको टुँडिखेलमा आयोजित गौरा पर्वमा केही युवाले ओली र कांग्रेस सभापति शेरवहादुर देउवा विरुद्ध नाराबाजी गरेका थिए । उनीहरुको विरोधमा युवाले ‘मुर्दावाद’ को नारा लगाएका थिए।
मञ्चमा ओली र देउवा पुग्नेबित्तिकै युुवाहरूले नाराबाजी गरेको घटनाले नेताहरुको लोकप्रियतामा प्रश्न उठेको छ ।
सोही विषयतर्फ इंकित गर्दै बिहीबारको बैठकमा ओलीले भनेका छन्, ‘अराजकतावादी शक्तिहरू विभिन्न ढंगबाट अगाडि बढ्दैछन्। मुख्य पार्टी र निश्चित नेताहरूमाथि केन्द्रीत रहेर समाजमा असन्तुष्टि भड्काउने प्रयत्नहरू भइरहेका छन्।’
साथै, उनले पार्टीका अगाडि चुनौती थपिएको भन्दै संगठनलाई व्यवस्थित, एकताबद्ध र सशक्त बनाएर अघि बढ्नुपर्ने बताएका थिए।