Banner Nepal
तीन प्रतिशत ब्याजमा स्टार्टअप बिजनेसका लागि कर्जा आव्हान, २१ दिन भित्र आवेदन दिनु पर्ने

काठमाण्डौ । स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न आवेदन खुला भएको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जाका लागि आवेदन खुला गरेको हो ।

प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८१ अनुसार तोकिएका मापदण्ड पूरा भएका उद्यमीले कर्जाका लागि परियोजनाको विवरणसहित आवेदन दिन आग्रह गरेको छ । उद्यमीले कर्जाका लागि २१ दिनसम्म प्रस्ताव पेस गर्नुपर्ने छ ।

काठमाण्डौ उपत्याकाबाहिरका उद्यमीलाई अनलाइनबाट आवेदन दिन सहज होस् भनेर अनलाइनमार्फत आवेदन दिने व्यवस्था गरिएको प्रतिष्ठानले जनाएको छ । गएको वर्ष उद्यमीले भौतिक रूपमा उपस्थित भएर आवेदन दिने व्यवस्था गरिएको थियो ।

स्टार्टअप उद्यम कर्जा लागि उद्यम व्यवसाय दर्ता भई १० वर्ष ननाघेको, प्राइभेट फर्म, साझेदारी फर्म कम्पनी वा सहकारी संस्था उद्योगका रूपमा दर्ता भएको हुनुपर्नेछ । वार्षिक आर्थिक कारोबार १५ करोड रुपियाँ ननाघेको, नवीन एवम् सिर्जनशील सोचलाई उद्यम व्यवसायका रूपमा रूपान्तरण गरी तीव्र वृद्धिको सम्भावना भएको उद्यम हुनुपर्ने व्यवस्था छ ।

कार्यविधि अनुसार उद्यम तथा परियोजनालाई धितो मानेर तीन प्रतिशत ब्याजदरमा स्टार्टअप कर्जा पाउन सकिने छ । कर्जाको अवधि अधिकतम पाँच वर्षको हुने छ भने ढिलोमा कर्जाको पहिलो किस्ता लिएको एक वर्षपछि साँवा वा ब्याजबापतको रकम फिर्ता गर्न शुरु गर्नुपर्ने छ । स्टार्टअप उद्यम कर्जाको ब्याजदर वार्षिक तीन प्रतिशत हुने पनि कार्यविधिमा उल्लेख छ ।

गएको आर्थिक वर्षमा १ सय ६५ जना उद्यमीले न्यूनतम पाँच लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्म स्टार्टअप उद्यम कर्जा पाएका थिए ।

स्टार्टअप उद्यमका क्षेत्रमा कृषि सिँचाइ तथा पशुपन्छीमा आधारित उद्यम, उत्पादनमूलक उद्यम, वनमा आधारित उद्यम,  पर्यटन प्रवर्द्धन  तथा मनोरञ्जन र अतिथि सत्कारसँग सम्बन्धित उद्यम, मानव स्वास्थ्य सेवासँग सम्बधित उद्यम, पूर्वाधार निर्माण कार्यसँग सम्बन्धित उद्यम, विद्युतीय सवारीसाधन तथा अटोमोबाइलसँग सम्बन्धित गरी १९ वटा क्षेत्र तोकिएका छन् । 

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १०:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update