काठमाडौं । टेक्सासको ह्युष्टनमा गोली लागेको अवस्थामा मृत भेटिएकी नेपाली विद्यार्थी मुना पाण्डेलाई एकल महिला अनिता पाण्डे अधिकारीले निकै संघर्ष गरेर हुर्काएकी थिइन् । पारिवारिक स्रोतका अनुसार श्रीमानबाट अपहेलित भएपछि एक्लै बसेर छोरीलाई हुर्काएकी अनिताले आफै काम गरेर निकै संघर्ष गरेर हुर्काएकी थिइन् । ५ बर्षदेखि एक्लै बसेर अनिताले मुनालाई सनु २०२१ मा स्नातक अध्ययनका लागि अमेरिका पठाएकी थिइन् ।
पारिवारिक स्रोतका अनुसार मुना सुरुमा नेपालबाट गएको साथीसँग बसेकी थिइन् । पछिल्लो समय भने मुना अपार्टमेन्टमा एक्लै बस्दै आएकी थिइन् । मुनाको एकजना अमेरिकनसँग प्रेमसम्बन्ध रहेको पारिवारिक स्रोतले पुष्टी गरेको छ । मुनाले प्रेमीसँग घुम्न गएका फोटो र भिडियोपनि आमा अनितालाई पठाउने गरेकी थिइन् । तर पछिल्लो समय उनीहरुबीच सम्बन्ध त्यती राम्रो नभएको समेत मुनाले आमालाई बताउने गरेकी थिइन् ।
आमा अनिताले हत्यारा पत्ता लगाउन आग्रह गरेकी छिन् । उनले मुनाको न्यायका लागि सहयोग गर्न अमेरिकामा रहेका नेपालीहरुलाई अनुरोध समेत गरेकी छिन् । ४ दिनदेखि मोबाइल अफ रहेको र पहिले पनि बेलाबेलामा अफलाइन हुने गरेकाले कतै घुम्न गएको होला भन्ने ठानेको तर अहिले दुखद खबर सुन्नुपरेको भन्दै अनिता रोइरहेकी छन् ।
नेपालको भोजपुरकी मुना ह्युस्टन कम्यूनिटी कलेजमा अध्ययनरत थिइन् । उनी ३ बर्ष अगाडि सन् २०२१ मा अध्ययनका लागि अमेरिका पुगेकी हुन् ।
मुनाको सामाजिक सञ्जाल अनुसार उनी गत जनवरीमा २१ बर्ष पुगेकी थिइन् । सो दिन उनले आफ्नो कभरफोटो समेत अपडेट गरेकी थिइन् ।
मुना पाण्डे सोमबार साँझ छातीमा गोली लागेको अवस्थामा अपार्टमेन्टमा भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो । सोमबार बेलुका ५ बजेर ३५ मिनेटमा प्रहरी घटनास्थलमा पुग्दा उनलाई मृत अवस्थामा भेटाएको ह्युष्टन प्रहरीले खसोखासलाई जानकारी दिएको छ ।
घटनाबारे जानकारी पाएपछि प्रहरीको टोली वेष्ट एयरपोर्ट ब्लुभार्डमा रहेको घटनास्थलमा पुगेको र त्यहाँ पुग्दा २१ बर्षकी महिला मृत अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ । अहिलेसम्म घटनामा कोहीपनि संदिग्ध फेला नपरेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।