Banner Nepal
अमेरिकामा नेपाली असुरक्षित हुन थाले, २१ वर्षिया युवतीको गोली हानेर हत्या

काठमाडौं । अमेरिकामा एक नेपाली युवतीको गोली हानी हत्या भएको छ ।

सोमबार ह्युस्टनस्थित अपार्टमेण्टमा गोली लागेर मृत अवस्थामा फेला परेकी मुना पाण्डेलाई हत्याराले उनको कोठाभित्रै पसेर गोली हानेको प्रहरीले जनाएको छ ।

प्रहरीले पाण्डेको अपार्टमेण्टमा राखेको सीसीटीभीका फुटेज लगेर अनुसन्धान सुरु गरेको छ । 

प्रहरीका अनुसार उनी केही समय देखि अमेरिकी युवकसँग डेटिङ्गमा थिइन् ।  तर अझै हत्यारा यकिन नभएको  प्रहरीले जनाएको छ। हत्याराले उनको ओछ्यानमै पुगेर गोली हानेको भिडियो सार्वजनिक भएको छ।

सार्वजनिक भएको भिडियोमा मुनालाई तीनवटा गोली हानिएको छ।

मुना सन् २०२१ मा अध्ययनका लागि अमेरिका पुगेकी थिइन्। २१ वर्षीया मुनाको नेपालमा आमा मात्र रहेको बताइएको छ। उनका आमा बुवाको सम्बन्ध विच्छेद भएको बुझिएको छ ।

प्रहरीले उनको शव पोष्टमार्टमका लागि लगेको छ। पोष्टमार्टमको रिपोर्ट आएपछि घटनाबारे थप तथ्य खुल्ने बताइएको छ ।

पोस्टमार्टम सकिएपछि मुनाको शव स्थानीय फ्यूनरल होममा आउने र त्यसपछि परिवारको समन्वयमा अन्त्येष्टि गरिने नेपाली समाजले जनाएको छ।

मुनाकी नेपालमा रहेकी आमा अमेरिका पुगेपछि उनको अन्तेष्टि गरिने नेप्लिज एशोसियसन अफ ह्युस्टनका पूर्व अध्यक्ष डाक्टर विष्णु नेपालले बताए । 

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  ०८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update