काठमाडौं । जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष अब्दुल खानले प्रहरीका कारण बर्दियाका सर्वसाधारण र साना व्यापारीले सास्ती भोग्नु परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
सांसद समेत रहेका खानले आज संसदमा प्रहरीको दोहोरो चरित्रका कारण बर्दियामा सर्व साधारण र साना व्यापारीले सास्ती भोग्नु परेको उल्लेख गरेका हुन् ।
गत साउन ३० गते मधुबन र बारबर्दियामा खरिद गरेको खसीलाई गुलरिया ल्याउने क्रममा प्रहरीले नियन्त्रणमा लिई ३१ गते लिलाम गरि पुनः३२ गते लिलाम गरि जफत गरेर सर्वसाधारणलाई दुख दिने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
नियन्त्रणमा लिएका बस्तु-भाउहरुको विषयमा सिडियोलाई बुझ्दा, एसपी संग बुझ्नुस भन्ने अनि एसपीलाई सोद्धा इलाका प्रहरी चौकीमा जानु भनेर प्रहरीहरु तर्किने गरेको बताए ।
उनले प्रहरीले सांगठनिक चक्रव्युहमा जनतालाई फसाउने र दुख दिने काम भएको भन्दै रोक्नका लागि गृह प्रशासनको ध्यानाकर्षण गराएका छन् ।
उनले बर्दिया जिल्लाको प्रमुख जिल्ला अधिकारी, एस।पी।र भन्सार कार्यालयका प्रमुखलाई कार्यवाही गरि, जनसेवक कर्मचारीहरुलाई पठाई कामकाज गराउन पनि माग गरेका छन् ।