काठमाडौं । आमजनता पार्टीका अध्यक्ष प्रभु साहले वर्तमान सरकार लुटेराहरुको सरकार भएको आरोप लगाएका छन् । अध्यक्ष शाहले लुटेराहरुले राज्यमातहतका संस्थाहरुको दोहन गरेर देशै डुबाउन लागिपरेको आरोप लगाएका हुन् ।
काठमाडौँमा मंगलवार शुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकको उद्घाटनलाई सम्बोधन गर्दै अध्यक्ष साहले वर्तमान सरकारले जनताका लागि केही पनि नगर्ने दावी गरे ।
प्रमुख पार्टीका शीर्ष नेताहरुको सत्ता स्वार्थले सबैलाई लज्जित बनाएको आरोप लगाउदै उनले चरम राजनीतिका कारण प्रदेश र स्थानीय सरकार अप्ठ्यारोमा रहेको उल्लेख गरे ।
राज्यमातहत रहेका संस्थाहरुलाई दोहन गरेर डुबाउन सरकार लागिपरेको आरोप उनले लगाए। जनतालाई करको बोझ बोकाएर सत्तामा बसेर प्रमुख पार्टीहरुले लुट मच्चाइरहेको साहले बताए ।
वर्तमान सरकार र दलहरुले जनतालाई सहज जीवनयापन नदिने भन्दै अध्यक्ष साहले तेस्रो जन आन्दोलनको आवश्यकता रहेको बताए।
आजपाको केन्द्रीय समितिको बैठक मंगलवार र बुधवार चल्ने कार्यतालिका रहेको बताइएको छ। बैठकले सडक आन्दोलनका कार्यक्रम बनाउने अध्यक्ष साहले बताए।