Banner Nepal
शेयर बजार ओरालो लाग्न थाल्यो, आज एकै दिन एक सय बढी अंकले घट्यो

काठमाडौं । शेयर बजार मंगलबार उच्च अंकले घटेको छ । हिजो झन्डै ८० अंकले घटेको शेयर बजार परिसूचक नेप्से आज एक सय ११ दशमलव ९६ अंकले घटेर दुई हजार सात सय ८२ दशमलव ६० विन्दुमा झरेको छ ।

आज होटल बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक, फाइनान्स, जलविद्युत्, लगानी, उत्पादन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अंकले ओरालो लागेको छ ।

आज नेपाल फाइनान्सको शेयर १० प्रतिशतले घटेको छ ।

यस्तै रिडी पावर कम्पनीको शेयर साढे आठ प्रतिशतले ओरालो लाग्दा र अन्य पाँच वटा कम्पनीको शेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ ।

बजार उच्च अंकले घटेको दिन तारागाउँ रिजेन्सी होटल, आत्मनिर्भर लघुवित्त र दोल्ती पावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज तीन सय ३० वटा कम्पनीका चार करोड ३८ लाख कित्ता शेयर १८ अर्ब ६४ करोड रुपैयाँमा कारोबार भएका छन् ।

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update