Banner Nepal
बर्षेनी गहुँ उत्पादन घट्दै

काठमाडौं । कैलालीमा यो वर्ष गहुँ उत्पादन गत वर्षको तुलनामा कम हुने आंकलन गरिएको छ । कृषि ज्ञान केन्द्रले गत चैत अन्तिम साता गरेको गहुँबालीको औसत उत्पादकत्व परीक्षणको नतिजा अनुसार यो वर्ष गत वर्षभन्दा उत्पादन कम हुने देखिएको हो । यो वर्ष गहुँको औसत उत्पादकत्व प्रतिहेक्टर ३ दशमलव ३५ मेट्रिक टन हुने आंकलन गरिएको कृषि ज्ञान केन्द्रका योजना तथा तथ्यांक शाखा प्रमुख मदनराज जोशीले बताउनुभयो । उहाँका अनुसार गतवर्ष यो वर्षको अनुपातमा केही बढी ३ सय ४२ मेट्रिक टन प्रति हेक्टर उत्पादकत्व रहेको थियो । कैलालीका २ स्थानीय तह चुरे र मोहन्याल गाउँपालिका बाहेक तराई भेगका ११ स्थानीय तहमा गरिएको उत्पादकत्व परीक्षणको आधारमा गहुँ उत्पादनको परिमाण आंकलन गरिएको जोशीले बताउनुभयो । 
कृषि ज्ञान केन्द्रको तथ्यांक अनुसार गतवर्ष जिल्लामा १ लाख १२ हजार ३१२ मेट्रिक टन गहुँ उत्पादन भएको थियो । यो वर्ष उत्पादकत्वमा केही ह्रास आएर १ लाख १० हजार १४ मेट्रिक टन उत्पादन हुने आंकलन गरिएको छ । जिल्लामा ६८ हजार हजार ९७६ हेक्टरमा गहुँखेती हुने गरेको छ । हिउँदमा वर्षा नहुनु, खेतीयोग्य जमिनको तुलनामा सिँचाई सुविधा कम हुनु तथा उन्नत बीउबिजनको प्रयोग कम हुनु लगायत कारण उत्पादकत्व घटेको तथ्यांक शाखा प्रमुख जोशीले बताउनुभयो ।

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  ११:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update