
काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालले राजतन्त्रको पक्षमा काठमाडौंमा आज प्रदर्शन गर्दैछ ।
संवैधानिक राजसंस्था, आन्दोलनका क्रममा पक्राउ परेका नेताहरुको रिहाई, निष्पक्ष छानबिन आयोग लगायत माग राखेर राप्रपाले नेपालले शान्तिबाटिकामा प्रदर्शन सँगै सभा गर्न लागेको हो ।
राप्रपा नेपालद्वारा आयोजित कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्ट सहभागी हुने सो पार्टीले जनाएको छ । राप्रपा अध्यक्ष थापाको आग्रहमा अन्य राजावादी दलका नेताहरु सहभागी हुन लागेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
धर्म निरपेक्षता र गणतन्त्रको विरोधमा बन्देज लगाउने गरी कानून बनाउने सरकारको तयारी रोक्न राप्रपा नेपालले माग गरेको छ ।
नवराज सुवेदीको संयोजकत्वमा गठित संयुक्त जनआन्दोलन समितिले गत चैत १५ गते तीनकुने आसपासमा गरेको प्रदर्शनका क्रममा राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र सहितका नेताहरु पक्राउ परेका थिए ।
राप्रपा महामन्त्री धवलशमशेर राणा उपचारका लागि तत्काल रिहाइ भए पनि वरिष्ठ उपाध्यक्ष मिश्र सहितका २५ जनालाई थप ७ दिनको म्याद थपेर अनुसन्धान अघि बढाइएको छ ।