Banner Nepal
तीन टुक्रा भएको एमाले अछामको जिल्ला अधिवेशनमा सर्वसम्मतीको प्रयास, सर्वसम्मतीका नाममा नेता निकटलाई च्याप्दा कार्यकर्ता गुमाउने खतरा

काठमाडौं । लामो समयदेखि धकेलिएको नेकपा एमाले अछामको जिल्ला अधिवेशन आजदेखि सुरु भएको छ । पूर्वउपाध्यक्ष भीम रावल पार्टीमा रहने या नरहने भन्ने विवादले झण्डै डेढ वर्ष रोकिएको ९ औं जिल्ला अधिवेशन आजदेखि सुरु भएको हो ।

अधिवेशनका लागि ९१ वटै वडा र विभिन्न क्लस्टरबाट आएका प्रतिनिधि सदरमुकाम मंगलसेन आइसकेका छन् । अधिवेशन उद्घाटनका लागि केन्द्रीय सचिव एवं सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट अछाम पुगेका छन् ।

नेकपा फुटपछिको पहिलो एमाले अधिवेशनबाट जिल्ला अध्यक्षमा निर्वाचित भएका चन्द्र बोहराले फेरि अध्यक्षमा दोहोरिने आकांक्षा राखेका छन् ।

बोहोरा एमाले अध्यक्ष केपी ओली निकटका नेताका रुपमा परिचित छन् ।  बोहोरासँगै शिवप्रसाद उपाध्याय, हिरण्य भट्टराई, तिलक रावलसहित ७ जनाले दाबी गरेका छन् ।

सचिवमा मोति बिक, लिला केसीको दाबी रहेको छ भने उपसचिवमा सिद्धप्रसाद ढुंगानाले दाबी प्रस्तुत गरेका छन् । 

यद्यपी नेतृत्व सर्वसम्मत चुन्ने नेताहरुले बताएका छन् । एमालेका थुप्रै नेता–कार्यकर्ता एकीकृत समाजवादी र रावलसँग गइसकेकाले बाँकी रहेकाबीच पनि विवाद नहुने गरी भावी नेतृत्व सर्वसम्मत चयन गर्ने प्रयास भइरहेको बताइएको छ ।

अछाममा तीन टुक्रा भएको एमालेलाई  बलियो बनाउनका लागि पनि सर्वसम्मत नेतृत्व चयन  गर्नु पर्ने नेताहरुको मत छ । तर सर्वसम्मतको नाममा नेताका निकटका मान्छे मात्रै अटाउने अवस्था आएमा रुष्ट नेता–कार्यकर्ता भीम रावलतिर जान सक्ने भएकालाई सबैको चित्त बुझाउन पनि सकस परेको देखिन्छ । 

अछाम इन्चार्ज झपट बोहरा, यज्ञ बोगटी र कमल तिमिल्सेना गरी तीन जना केन्द्रीय सदस्य सर्वसम्मत नेतृत्व चयनका लागि सक्रिय भएका छन् । रावलले पार्टी परित्याग गरेसँगै एमालेले अधिवेशन गर्न लागेको हो ।

नेकपा फुटपछि एमालेका धेरै नेता एकीकृत समाजवादीमा गएपछि क्षति ब्योहरेको एमालेलाई रावलले पनि पार्टी परित्याग गरेपछि थप संकट परेको देखिन्छ ।

 विषेशगरी रावलको निर्वाचन क्षेत्र नम्बर १ मा एमालेको नेतृत्व गर्नेहरु नै फरकधारमा उभिएपछि एमाललेलाई झट्का लागेको छ । उसो त एमालेले नेकपा फुटपछि नै अछाममा ठूलो क्षति बेहोर्नुप¥यो ।

एमालेका पूर्व जिल्ला अध्यक्ष एवं सांसद शेरबहादुर कुँवर, साँफेबगर नगरपालिकाका पूर्व नगरप्रमुख एवं तत्कालीन एमालेका प्रभावशाली नेता कुलबहादुर कुँवरलगायत माधव नेपाल नेतृत्वको नेकपा समाजवादीमा जाँदा अछाम क्षेत्र नम्बर १ ले नै क्षति बेहोर्नुपरेको थियो ।

सुदूरपश्चिम प्रदेश कमिटी सदस्य दूधकला विष्ट, एमालेका प्रभावशाली नेता प्रकाश शाह, बालगिरी कुँवर लगायतका नेता सयौं नेता–कार्यकतालाई लिएर अहिले रावलको मातृभूमि जागरण अभियानमा जोडिएका छन् ।

प्रदेश र प्रतिनिधिसभाको निर्वाचन २०७४ मा अछामका दुईवटै निर्वाचन क्षेत्रमा विजयी भएको एमाले २०७९ को चुनावमा दुवैमा पराजित भयो ।

क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि जिल्लाबाट रावलको नाम एकल सिफारिस भएपनि अध्यक्ष  ओलीले आफू निकटकालाई उम्मेदवार बनाएपछि जिल्लामा लामो समयसम्म एमाले एकजुट हुन सकेको थिएन ।


 

प्रकाशित मिति: शनिबार, वैशाख १३, २०८२  ११:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update