
काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पका मन्त्रीपरिषदका सदस्यसँग मतभेद बढेसंगै अर्बपति व्यापारी एलन मस्कले सरकारी काममा समय कम गर्ने तयारी गरेका छन् ।
संघीय कर्मचारी कटौती सिफारिसका विषयमा विदेशमन्त्री मार्को रुबियो र यातायात मन्त्री सिन डफिबीच मतभेद बढेसँगै मस्कले सरकारी काममा कम समय दिन लागेका हुन् । मन्त्रीपरिषद्का सदस्यहरुले कर्मचारी निकालेको तथा बजेट कटौती गरेको विषयमा असन्तुष्टि जनाउदै आएका थिए ।
मस्कले सिफारिस गरेका युवा इन्जिनियरको भुमिकालाई पनि मन्त्रीपरिषदले सांघुरो बनाएको लगायतका कारण मस्कले आफ्नो जिम्मेवारी कम गर्ने निर्णय गरेको समाचारहरुमा उल्लेख छ । यद्यपी मस्कले भने विद्युतीय कार टेस्लाको व्यापार विस्तारमा समय दिने भन्दै सातामा १ / २ दिन मात्र सरकारी जिम्मेवारीमा बस्ने प्रतिक्रिया दिएका छन् ।
राष्ट्रपति डोनल्ड ट्रम्पले कार्यभार सम्हालेको पहिलो दिन सरकारी खर्च घटाउन, कर्मचारीहरु कटौती गर्न र चुस्त कार्यप्रणाली बनाउन भन्दै छुट्टै विभाग संचालन गरेका थिए । डिपार्टमेन्ट अफ गभरमेन्ट इफिसेन्सी इम्प्लोइज नामको सो विभागको नेतृत्व मस्कले गर्दै आएका छन् ।