
काठमाडौं । सत्तारुढ एमालेले पार्टी स्थापना र लोकतन्त्र दिवसको सन्दर्भ पारेर काठमाडौंमा आज कार्यक्रम गर्दैछ । सरकारको कार्यशैलीलाई लिएर आलोचना बढिरहेका बेला जागरणसभा गर्दै आएको एमालेले काठमाडौंमा ‘युथ सेलिब्रेशन’ का नाममा भिड उतार्न लागेको हो ।
एमालेले बिहान ११ बजे भृकुटीमण्डपमा देशभरका ४० वर्षमुनिका एक लाख युवा जम्मा पार्ने जनाएको छ । एमालेले थुथ सेलिब्रेसन मार्फत शक्तिप्रदर्शनको तयारी गरेको हो ।
कार्यक्रमलाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेलसहित प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङ, काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डङ्गोल, युवा संघका अध्यक्ष क्षितिज थेवेलगायतले सम्वोधन गर्ने बताइएको छ ।
सरकार नेतृत्वकर्ता दल एमालेले सडकमा गर्न लागेको प्रदर्शनलाई कतिपयले भने अनौठो मानेका छन् । नागरिकका समस्या सुल्झाउनेमा भन्दा आफ्नै प्रतिरक्षामा एमाले यतिबेला जुँधीरहेको छ ।