
काठमाडौं । ३० औँ पटकको किर्तिमान बनाएका आरोही कामीरिता शेर्पा फेरि आरोहणका लागि सगरमाथाको आधार शिविर पुगेका छन्।
३१ औँ पटक आरोहण गरेर आफ्नै रेकर्ड ब्रेक गर्न उनी शिविर पुगेका हुन् । कामीरिताले यसपटकको वसन्त याममा ३१ औँ पटक सगरमाथा आरोहण गरेर यसअघि आफ्नै नाममा रहेको विश्वकीतिर्मान तोड्न लागेका हुन् ।
उनले सन् २०२३ को आफ्नै नामको २८ पटकको रेकर्ड तोड्दै सन् २०२४ मा ३० औँ पटक रेकर्ड दर्ज गरेका थिए ।
पुनः त्यो रेकर्ड तोड्न ३१ औँ पटक सगरमाथाको शिखर चुम्न केही दिनपछि त्यसतर्फ जाने शेर्पाले जानकारी दिए।
आरोही शेर्पाले सगरमाथा आरोहण कुनै रेकर्डका लागि नभई आफ्नो नियमित काम भएको बताए । सगरमाथामा पहिलोपटक मानवपाइला टेकिएको ७२ वर्षको अवधिमा ३०औँ पटक सफल आरोहणको कीर्तिमान कायम गर्ने उनको रेकर्ड कसैले तोड्न सकेको छैन ।
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेका स्थानीयवासी ५५ वर्षीय कामीरिता कुशल पर्वतारोही पथप्रदर्शकसमेत हुन्।
सन् १९९४ को मे १३ तारिखमा पहिलोपटक सगरमाथाको चुचुरोमा पुगेका उनको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ ।