
काठमाडौं । तत्काल शिक्षा ऐन जारी गर्नुपर्ने माग सहित आन्दोलनमा उत्रिएका नेपाल शिक्षक महासंघले आज १६औं दिन पनि प्रदर्शनलाई जारी राख्ने भएका छन् ।
सरकारले विद्यालयका शिक्षक तथा कर्मचारीको माग सम्बोधनको तयारी भइरहेकाले समिति बनाएर छलफल गर्न आग्रह गरेपनि महासंघले आन्दोलन जारी राख्ने बताएको हो ।
आन्दोलन स्थगित गरेर कार्य क्षेत्रमा फर्किन सरकारले गरेको आग्रह बेवास्ता गर्दै महासंघले उधारो सम्झौतामा आन्दोलन नरोक्ने बताएको छ ।
महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले अवज्ञा र असहयोग सहितको शन्तिपूर्ण आन्दोलन अझ सशक्त बनाउने बताउनु भयो । शिक्षकका माग समेटिएको ऐन जारी नभएसम्म सडक नछाड्ने सुवेदीको भनाई छ ।
शिक्षक आन्दोलनका कारण यस बर्षको विद्यार्थी भर्ना अभियान समेत प्रभावित भएको छ । देशभरका शिक्षक गत चैत २० गतेदेखि काठमाडौंको सडकमा निरन्तर आन्दोलनमा छन् ।
उनीहरुले एसईईको उत्तरपुस्तिका जाँच र कक्षा १२ को परीक्षा बहिष्कार गर्ने घोषणा गरेका छन् ।