
काठमाडौं । आन्तरिक राजस्व कार्यालय भद्रपुर झापाले चालु आर्थिक वर्षको ९ महिनामा २ अर्ब ३५ करोड बढि राजस्व संकलन गरेको छ ।
चालु आर्थिक वर्षमा ४ अर्ब ६१ लाख राजस्व संकलन गर्ने लक्ष्य लिइएकोमा ९ महिनामा २ अर्ब ३५ करोड १४ लाख ४४ हजार राजस्व संकलन भएको सूचना अधिकारी एवं कर अधिकृत डोरराज सुनुवारले जानकारी दिए ।
सो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८ दशमलव २६ प्रतिशतले बढी हो ।
राजस्व संकलन बढे पनि लक्ष्यको ८१ दशमलव ४५ प्रतिशत मात्र संकलन भएको सुनुवारको भनाइ छ ।
राजस्व कार्यालयका अनुसार आयकरबाट १ अर्ब ७ करोड ९४ लाख ९४ हजार, ब्याजबापत ७ करोड १९ लाख ९४ हजार, मूल्य अभिवृद्धि कर बापत ७६ करोड ७१ लाख ९ हजार, अन्तःशुल्कबापत ३९ करोड ९७ लाख ६७ हजार राजस्व संकलन भएको छ ।
यसैगरी आयकर र मूल्य अभिवृद्धि कर नतिर्ने विभिन्न ११ वटा फर्म तथा कम्पनीहरूलाई कारबाही गरी १ करोड ७५ लाख असुल गरिएको राजस्व कार्यालयले जनाएको छ ।