
काठमाडौं । प्रमुख सत्तारुढदल नेपाली कांग्रेसले संसदमा रहेको शिक्षा विधेयका बारे पार्टीको आधारिक धारणा बनाउनका लागि गम्भीर छलफल शुरु गरेको छ।
अधिकांश कांग्रेस पदाधिकारी र शिक्षा विभागबीच मंगलबार बेलुकी सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले शिक्षा उपसमितिमा छलफलमा रहेको विधेयकका २८ बुँदामा रहेको असहमति र विधेयक बारे पुर्ण धारणा निर्माण गर्नका लागि आवश्यक समन्वय गर्न शिक्षा विभाग प्रमुख नैनसिंह महर लाई जिम्मेवारी दिएको छ।
विद्यालय शिक्षा ऐनको माग राख्दै काठमाडौं केन्द्रित आन्दोलनमा रहेका शिक्षकहरूको आत्मसम्मान गर्दै उनीहरूसँग यसअघि सरकारले प्रतिवद्धता जनाए अनुरुप माग सुनुवाइका लागि कांग्रेसले पहलकदमी गर्ने पार्टी मुख्यसचिव कृष्ण पौडेलले बताए।
"शिक्षकका माग सम्बोधनका लागि विधेयकका विषयमा धारणा बनाउन सम्बन्धित पक्ष र निकायसँग आवश्यक समन्वयका लागि हामीले शिक्षा विभाग प्रमुख नैनसिंह महरलाई जिम्मेवारी दिएका छौं, उहाँहरूले द्रूत गतिमा विमर्शका माध्यमबाट तयार पारेको धारणालाई पार्टीले विचार विमर्श गरेर मूर्तता दिने छ र त्यो नै पार्टीको आधिकारिक धारणा हुने छ" उनले भने।
यस्तै शिक्षा विभाग प्रमुख महरले पार्टीले दिएको जिम्मेवारी पूरा गर्न आफूहरू यतिबेला सक्रिय रहेको प्रतिक्रिया दिएका छन्। "आन्दोलनरत शिक्षकहरूसँग सरकारले गरेको वार्ता अहिलेसम्म निष्कर्षमा पुग्न सकेको छैन, विधेयका लागि बनेको उपसमितिका बीचमा ९२ बुँदामा हल निस्किए पनि २८ बुँदामा सहमति जुट्न सकेको छैन" उनले भने।
यस्तो अवस्थामा आन्दोलन लम्बिँदा शैक्षिक सत्रमा असर पर्नुका साथै राज्यप्रति शिक्षकहरूको विश्वास गुम्दै गइरहेकाले माग सम्बोधनका लागि कांग्रेसले जिम्मेवार भूमिका निर्वाह गर्ने महरले स्पष्ट पारे।