
काठमाडौं । इलामका उत्तरी भेगका स्थानीयलाई गाँउमा विद्यालय नहुँदा बालबच्चा कहा पढाउने भन्ने चिन्ताले पिरोलेको छ ।
गाउँमा एउटा पनि विद्यालय नहुँदा त्यहाँका अभिभावकले भारतका विद्यालयमा छोराछोरी पढाउनु पर्ने पिरलो थपिएको हो ।
माइजोगमाई गाउँपालिका–५ मेग्माकी नुमा शेर्पाले "शिक्षकको आन्दोलन भन्छन्, शिक्षा ऐन भन्छन्,गाँउमा एउटा पनि विद्यालय नहुँदा अर्काको देशमा बच्चा पढाउन पठाउँदाको पीर सरकारले नबुझेको" बताइन ।
शेर्पा मात्रै होइन उत्तरी इलामका लेकाली भेगका अधिकांश अभिभावकले बालबच्चा भारतको विभिन्न विद्यालयमा पढाउनुपर्ने बाध्यता छ ।
त्यहाँका जौबारी, तुम्लिङ, मेग्मा, आलेभञ्ज्याङ, नुनथला, इङ्ला, गैरीबासलगायत गाउँका सबै बालबालिका भारतीय विद्यालय लैजानुपरेको छ ।
विद्यार्थी अभाव भएको भन्दै सामुदायिक विद्यालयहरु बन्द भएपछि भारतीय सीमावर्ती क्षेत्रका बालबालिका भारतमा पढ्न बाध्य छन् ।
पातलो बस्ती र जनघनत्व पनि कम भएका ती ठाउँमा केही वर्षयता विद्यालय नै बन्द भएपछि बालबालिकालाई प्राथमिक तहको शिक्षा लिन भारतीय क्षेत्रमा अभिभावक गएर बस्नुपर्ने बाध्यता भएको जौबारीका सोनाम शेर्पाले बताए।
विद्यार्थी भारत लैजाँदा पैसा त खर्च हुन्छ नै नेपालको राष्ट्रियता, स्वाभिमानजस्ता विषय नेपाली बालबालिकाले थाहा नपाउने शेर्पाले बताए ।
सीमा क्षेत्रमा विद्यालय सञ्चालन गर्न अहिलेसम्म सरोकारवालाले चासो देखाएका छैनन् ।