Banner Nepal
शिक्षकहरुको आन्दोलन रोकिएन, देशभरका शिक्षकलाई काठमाडौं बोलाइयो

काठमाडौं । सरकारले गरेका आग्रह अस्वीकार गर्दै नेपाल शिक्षक महासंघले आन्दोलनलाई निरन्तरता दिने जनाएको छ ।

आन्दोलन स्थगित गरेर कार्य क्षेत्रमा फर्किन सरकारले गरेको आग्रह  बेवास्ता गर्दै महासंघले आन्दोलन जारी राख्ने जनाएको हो ।

महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले उधारो आश्वासनमा आन्दोलन नरोकिने बताए ।

मन्त्रीपरिषद् बैठकले शिक्षकको माग सम्वोधनका लागि आगामी १२ गते संसदको विशेष अधिवेशन बोलाउने निर्णय गरेको छ ।

सरकारले संसद्मा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक सही अधिवेशनबाट पारित गर्ने भन्दै आन्दोलनका कार्यक्रम रोकेर कार्य क्षेत्रमा फर्किन शिक्षकहरुलाई आग्रह गरेको हो ।

अध्यक्ष सुवेदीले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्   – "आन्दोलनले तपाईंको सक्रिय सहभागिता खोजिरहेको छ । तुरुन्तै काठमाडौं आइपुग्नुहोला ।" 

सरकारको भनाई र गराई फरक रहेकाले अझै विश्वास गर्न सकिने अवस्था नभएकाले देशभरका शिक्षकलाई आन्दोलन सफल बनाउन सुवेदीले काठमाडौं बोलाएका हुन् । 

नेपाल शिक्षक महासंघकी सहअध्यक्ष तथा आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुलीले सरकारले जारी शिक्षक आन्दोलनलाई कमजोर बनाउन लागेको शंका व्यक्त गरेकी छन् ।

उनले पनि सामाजिक सञ्जालमा लेखेकी छन् –,‘आदरणीय शिक्षक कर्मचारी साथीहरू, झुट्टा हल्लाकोपछि नलागी आन्दोलनमा सहभागीता जनाउन सबैमा अनुरोध गर्दछु । 
देशभरका शिक्षक १५ दिनदेखि काठमाडौंको सडकमा निरन्तर आन्दोलनमा छन् ।  

शैक्षिक हड्तालमा रहेका उनीहरुले एसईईको उत्तरपुस्तिका जाँच र कक्षा १२ को परीक्षासमेत बहिष्कार गर्ने घोषणा गरेका छन् ।

शिक्षक आन्दोलनका कारण हिजोदेखि सुरु भएको विद्यार्थी भर्ना अभियानसमेत प्रभावित भएको छ ।

tc2-1744779424.jpg

tc3-1744779424.jpg

tc1-1744779425.jpg

 

 

 

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  १०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update