Banner Nepal
सुडानको शरणार्थी शिविरमा नरसंहार, चारसय बढीको मृत्यु

काठमाडौं । विद्रोही समूहले गरेको आक्रमणका कारण सुडानको एक शरणार्थी शिविरमा रहेका ४ सय बढीको मृत्यु भएको छ। 

संयुक्त राष्ट्र संघका अनुसार विद्रोही समूह र्यापिड सपोर्ट फोर्स आरएसएफले शरणार्थी शिविरमा आक्रमण गरेको हो। विद्रोही समूहले डार्फरको जमजम र अबशोक नामका दुई शिविरमा नियोजित ढंगबाट आक्रमण गरेको संयुक्त राष्ट्रसंघले जनाएको छ। मृत्यु हुनेमा ठूलो संख्यामा बालबालिका सहित राहत र उद्धारकर्मी समेत छन्। 

गत हप्ता पनि यो समूहले अल–फशर शहर नजिक रहेका विभिन्न शरणार्थी शिविरमा स्थल र हवाई आक्रमण गरेको थियो। जसमा एकसयभन्दा बढीको मृत्यु भएको थियो।

सुडानमा विद्रोही समूह आरएसएफ र सुडानी सेनाबीच डार्फर कब्जाका लागि युद्ध जारी छ। यहाँ सन् २०२३ को अप्रिल १५ देखि सत्तालाई लिएर रक्तपातपूर्ण युद्ध चलिरहेको छ। 

दुई वर्ष यता जारी गृहयुद्धमा अहिलेसम्म एक लाख ५० हजारभन्दा बढी मानिस मारिएको आँकलन छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  ०९:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update