
काठमाडौं । नेपाल शिक्षक महासंघले प्रधानमन्त्रीसँग वार्ता नहुन्जेल आन्दोलन नरोक्ने बताएको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षा मन्त्रालयसँग वार्ता गरेर कुनै अर्थ नहुने भन्दै प्रधानमन्त्रीसँग वार्ताको माग गरेका हुन् । आन्दोलनरत शिक्षकहरुले समस्या समाधानका लागि अब प्रधानमन्त्रीसँग मात्रै वार्ता गर्ने माग अघि सारेका हुन् ।
समाधानका उपायबारे लेखेर दिएपनि शिक्षा मन्त्रालयले चासो नदिएको सुवेदीले गुनासो गरे ।
सुवेदीले भने, ‘हामीले सरकारलाई समाधानका उपाए लेखेर दिएका छौं, हामी प्रधानमन्त्री बाहेक अरुसँग वार्ता गर्दैनौं।’ उनले प्रधानमन्त्री ओलीले शिक्षकको मागमा चासो नदेखाएको समेत बताए।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षकहरु अहिले काठमाडौं केन्द्रित आन्दोलनमा छन्। साढे २ महिनादेखि आन्दोलनका विभिन्न चरण पार गर्दै शिक्षकहरु गत चैत २० गतेदेखि लगातार माइतीघर बानेश्वर क्षेत्रमा प्रदर्शन गरिरहेका छन्।
सरकारले विगतका सहमति कार्यान्वयन नगरेको भन्दै उनीहरुले यसपटकको आन्दोलन निर्णायक भएकाले कुनै पनि हालतमा ऐन जारी गर्नु पर्ने बताउदै आएका छन् ।
महासंघले माग पूरा नभए वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षासमेत बहिष्कार गर्ने निर्णय गरेको छ।