
काठमाडौं । रुसले पछिल्लो पटक युक्रेनमा गरेको क्षेप्यास्त्र आक्रमणको पश्चिमा राष्ट्रहरुले निन्दा गरेका छन् ।
रुसले युक्रेनको सुमी शहरमा हिजो क्षेप्यास्त्र आक्रमण गर्दा दुई बालबालिकासहित ३४ जनाको मृत्यु भएको थियो ।
१ सय १७ जना घाइते भएका छन् । आइतबार मध्यरातमा सुमी शहरको केन्द्रमा दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरिएको बीबीसीले जनाएको छ ।
अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले आक्रमणलाई भयानक भएको टिप्पणी गरे । जर्मनीका भावी चान्सलर फ्रेडरिक मर्जले पछिल्लो आक्रमणलाई युद्ध अपराधको संज्ञा दिए ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले मानव जीवन, अन्तर्राष्ट्रिय कानून र राष्ट्रपति ट्रम्पको कूटनीतिक प्रयासको रुसले अवहेलना गरेको आरोप लगाए ।
युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले रुस कहिलै नसुध्रिने बताए । बेलायतका प्रधानमन्त्री किअर स्टारमर र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ताले रुसको भयानक आक्रमणबाट आफुहरु स्तब्ध भएको बताएका छन् ।