Banner Nepal
नयाँ वर्ष सुशासनको वर्ष बन्ने राष्ट्रपति पौडेलको अपेक्षा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले समृद्धिको बाटोमा बाधक बनेर देखिने बेथितिको अन्त्य, सुशासन प्रर्वद्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त भएको बताएका छन् ।

नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले आजको दिन जनताको चाहना पूरा गर्ने संकल्प गर्न आग्रह गरे ।

राष्ट्रको उन्नति र समृद्धिका लागि उत्साहका साथ जुट्न र एउटा साझा संकल्प लिएर अघि बढ्न सबैमा अपिल गरे ।

इतिहास र सामाजिक जीवनमा लामो समयदेखि स्थापित यो संवतले हाम्रो सभ्यता, सामाजिक जीवन र परम्पराको प्रतिनिधित्व गर्दै नेपालको गौरवमय विगतलाई सम्झाउने र उन्नत भविष्यतिर अगाडि बढ्न प्रेरित गर्ने सन्देशमा उल्लेख भएको छ । 
राष्ट्रपति पौडेलले ठूलो राजनीतिक परिवर्तनपछि जनताले राखेको तीव्र आकांक्षाको परिपूर्तिमा हुन गएको केही ढिलाइ र केही कमी, कमजोरीलाई देखाएर भ्रमपूर्ण स्थिति सृजना गर्न खोजिएका प्रयत्न एक एक गरी विस्तारै निस्तेज हुँदै जाने विश्वास व्यक्त गरे ।

विश्व प्रविधिमैत्री भइसकेको अवस्थामा प्रविधिमैत्री अभ्यासलाई अझ बृहत बनाई सुदृढ गर्दै लैजानु पर्नेमा उनले जोड दिए । नयाँ वर्षको उपलक्ष्यमा उपराष्ट्रपति, प्रधानमन्त्री सहित विभिन्न राजनीतिक दलका नेताहरुले शुभकामना दिएक छन् ।

प्रकाशित मिति: सोमबार, वैशाख १, २०८२  ०९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update