Banner Nepal
अमेरिका र इरानबीच पहिलो चरणको आणविक वार्ता "रचनात्मक" भएको इरानको प्रतिक्रिया

काठमाडौं ।तेहरानको आणविक कार्यक्रमलाई लिएर इरान र अमेरिकाबीच ओमानमा पहिलो चरणको वार्ताभएको छ ।

दुवै देशका प्रतिनिधिमण्डलबीचको यो अप्रत्यक्ष वार्ता ओमानको राजधानी मस्कटमा भएको थियो ।

इरानको आणविक कार्यक्रमको सम्बन्धमा सन् २०१८ पछि दुई देशबीच भएको यो पहिलो उच्चस्तरीय बैठक थियो । दुबै देशले पहिलो चरणको बैठक "रचनात्मक" भएको बताएका छन् ।

दोस्रो चरणको छलफल अर्को हप्ता हुने बीबीसीले उल्लेख गरेको छ ।

अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले गर्नु भएको थियो । इरानी प्रतिनिधिमण्डलको नेतृत्व विदेशमन्त्री अब्बास अराघचीले गर्नुभएको थियो ।

दुई देशबीच सम्झौता हुन सक्छ कि सक्दैन भन्ने विषय स्थापित गर्न यो वार्तालाई पहिलो महत्वपूर्ण कदमको रुपमा हेरिएको छ । 
ट्रम्पले आफ्नो पहिलो कार्यकाल सन् २०१५ मा इरान आणविक सम्झौताबाट अमेरिकालाई अलग गरेपछिको यो सबैभन्दा महत्वपूर्ण वार्ता भएको बीबीसीले जनाएको छ ।

वार्तापछि इरानका विदेशमन्त्री अब्बास अराघचीले पहिलो बैठक रचनात्मक भएको भन्दै शान्तिपूर्ण र सम्मानजनक वातावरणमा सम्पन्न भएको बताउनुभयो ।

ह्वाइट हाउसले पनि एक विज्ञप्ति जारी गर्दै वार्ता धेरै सकारात्मक र रचनात्मक भएको बताएको छ ।

प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  १५:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update