काठमाडौं । बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध भएको नारायणगढ–बुटवल सडकखण्डमा गएरातिदेखि यातायात सञ्चालनमा आएको छ ।
नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका–१ दुम्कीबासस्थित विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि हिजो बिहानदेखि अवरुद्ध भएको सडक राति ९ बजेबाट सञ्चालनमा आएको हो ।
विनयी खोलामा डाइभर्सन बनाएर एकतर्फी बाटो सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनक बन्जराले बताउनुभयो ।
गत पुस २६ गते भारतीय नम्बरको ट्रकको ठक्करबाट पुल भाँचिएपछि डाइभर्सन बनाइएको थियो । सो डाइभर्सन पनि बाढीले बगाएपछि दिनभर सडक अवरुद्ध हुँदा यात्रु तथा सवारी साधनबीच बाटोमै रोकिएका थिए ।
दाउन्ने क्षेत्रमा कालोपत्र सडक खनेर विस्तार भइरहेको अवस्थामा बिहीबार बिहान परेको वर्षाले सडक हिलाम्य भएपछि सो क्षेत्रको आवागमन पनि अस्तव्यस्त बनेको छ ।
सो क्षेत्रमा गत बुधबारबाट दैनिक बिहान ११ देखि दिउँसो ३ बजेसम्म सवारी आवागमन बन्द गरेर मर्मतको काम थालिएको थियो ।