Banner Nepal
वैदेशिक रोजगार व्यवसायीसंघमा गुरुङको प्यानल नै विजयी

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा भुवनसिंह गुरुङ विजयी भएका छन् ।

आज बिहान सम्पन्न मतपरिणाम अनुसार गुरुङ ४ सय २८ मतसहित बिजयी भएका हुन् । निकटतम प्रतिद्वन्दी नरेश गेलाले ३ सय ६७ मत प्राप्त गरे ।

गुरुङको प्यानलबाट महासचिवसहित अधिकांश पदाधिकारी विजयी भएका छन् । गेलाल समूहबाट पदाधिकारी र सदस्यमा दुई दुई जनामात्र विजयी भएका छन् ।

महासचिवमा गुरुङ समूहका  महेश कुमार बस्नेत, सचिवमा पनि सोही समूका कुन्छ दोर्दे दिङडोङ विजयी भएका छन् । कोषाध्यक्षमा भने गेलाल समूहकी धनमाया सिन्जाली मगर विजयी भएकी छन्  ।  

संघको नेतृत्वका लागि यसपटक दुई प्यानल चुनावी मैदानमा होमिएका थिए ।

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशन र गणतान्त्रिक वैदेशिक रोजगार व्यवसायी मञ्चसँगको तालमेलमा बनेको प्यानलको अध्यक्षमा संघका पूर्व द्वितीय उपाध्यक्ष भुवनसिंह गुरुङले उम्मेदवारी दिएका थिए ।

यस्तै, प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनको असन्तुष्ट पक्ष र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनबीचको तालमेलमा बनेको संयुक्त व्यवसायी समूहको अध्यक्षका उम्मेदवार संघका पूर्व महासचिव तथा मञ्चका पूर्वअध्यक्ष नरेश गेलाल चुनावी मैदानमा होमिएका थिए ।

निर्वाचनमा कुल ८९३ प्रतिनिधि सूचीकृत भए पनि ८१३ जनाले मतदानमा भाग लिएका थिए । निर्वाचनमा ९१ प्रतिशतभन्दा बढी मतदान खसेको थियो ।

प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१  ११:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update