
काठमाडौं । राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर भनिएका दुर्गा प्रसाईंलाई भारतमा पक्राउ गरी नेपाल ल्याइँदै गरेको प्रसाईंका आफन्तले दाबी गरेका छन् ।
प्रसाईंलाई केही बेरमा पूर्वी नाका मेची पुल ल्याई पु¥याइने उनका दाइ लक्ष्मी प्रसाईंले जानकारी दिएका हुन् । मेची पुलमा उनका परिवारका सदस्य र समर्थकहरु उनको प्रतिक्षामा छन् ।
गत चैत १५ गते प्रदर्शनका नाममा हिंसा भड्काएर फरार भएका उनलाई नेपाल प्रहरीको विशेष ब्युरोले पूर्वी नेपालको सीमावर्ती क्षेत्रबाट नियन्त्रणमा लिने तयारी गरेको छ ।
प्रसाईंलाई खोज्न नेपाल प्रहरीका तीन टोली भारतसम्म पुगेका थिए । सोही प्रकरणमा प्रसाईं भागे पनि प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महमन्त्री धवलशमशेर राणासहित ७९ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले मिश्र र राणालाई राजद्रोह, संगठित अपराध र सार्वजनिक उपद्रवसहितका मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
यसैबीच नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दिनेश आचार्यले भने प्रसाईँ पक्राउ परेको समाचार बारे खण्डन गर्दै अनभिज्ञता प्रकट गरेका छन् ।