Banner Nepal
कैलालीको गेटामा मुटुरोग उपचार सेवा सुरु

काठमाडौं । कैलालीको गेटा अस्पतालमा मुटुरोग उपचार सेवा सुरु गरिएको छ । मुटुरोग विशेषज्ञ डा.अजय भट्ट गेटा अस्पतालमा सरुवा भएर आएपछि सेवा सुरु गरिएको हो ।

अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीका अनुसार यसअघि काठमाडौंको शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यरत डा.भट्टलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छात्रवृत्ति करार सेवा अन्तर्गत गेटा अस्पतालमा पठाएको हो ।

मुटुरोग विशेषज्ञ आएपछि अहिले अस्पतालमा दैनिक दश जनासम्म मुटुरोगका बिरामी आउने गरेको सूचना अधिकारी कार्कीले जानकारी दिनुभयो ।

डा.भट्टले गेटामा हाल मुटुरोग परीक्षणका लागि अत्याधुनिक इसीजी र इको मेसिन उपलब्ध रहेको बताए । गेटामा निकट भविष्यमै क्याथ ल्याब सेवा सञ्चालनको तयारी भइरहेको डा.भट्टको भनाई छ ।

हाल सुदूरपश्चिममा क्याथ ल्याब सेवा उपलब्ध छैन । सो सेवा सञ्चालन हुनसके ह्दयघात लगायत मुटुका संवेदनशील, गम्भीर तथा आकस्मिक बिरामीको उपचारमा महत्वपूर्ण योगदान पुुग्ने चिकित्सक बताउँछन् ।

प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update