
काठमाडौं आन्दोलनरत नेपाल शिक्षक महासंघ शिक्षा मन्त्रालयसँग छलफल गर्न तयार भएको छ ।
सरकारले पटक–पटक आह्वान गरेको वार्तामा बस्न अस्वीकार गर्दै आएको महासंघ शिक्षा मन्त्रालयसँग संवाद गर्न तयार भएको हो ।
शिक्षा सचिव दीपक काफ्लेले शिक्षा विधेयकमा छलफल गर्न महासंघको टोलीलाई छलफलका लागि बोलाएका हुन् । चैत २० गतेदेखि सडक आन्दोलनमा रहेका शिक्षकहरु पछिल्लो समय देशव्यापी शैक्षिक हडतालमा छन् ।
आगामी साता नयाँ शैक्षिक सत्र सुरु हुने भएकाले दुवै पक्ष आन्दोलन रोक्नुपर्ने दबाबमा छन् ।
शिक्षामन्त्री भट्टराईका अनुसार प्रधानमन्त्रीसहितको छलफलले शिक्षकका तत्काल पूरा गर्न सकिने माग अर्थ मन्त्रालयसँग समन्वय गरेर सम्बोधन गर्दै जाने तयारी भइरहेको छ ।
अस्थायी शिक्षकलाई स्थायी गर्नुपर्ने, दरबन्दी थप गर्नुपर्ने, बालविकास शिक्षक र विद्यालय कर्मचारीको दरबन्दी व्यवस्था गर्नुपर्ने माग पूरा गर्दा व्ययभार बढेर राज्यले थेग्न नसक्ने सरकारी पक्षको भनाइ छ ।
आन्तरिक प्रतिस्पर्धाबाट शतप्रतिशत शिक्षक स्थायी गर्ने लगायत कतिपय माग सार्वजनिक शिक्षा सुधारका लागि समेत बाधक हुने शिक्षाविद्हरूले टिप्पणी गरेका छन् ।