
काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहानदेखि हावाहुरी र चट्याङसहित वर्षा सुरु भएको छ । केही दिन यता वायु प्रदुषणले आक्रान्त बनेका काठमाडौंबासीलाई वर्षा भएसँगै राहत भएको छ ।
वर्षाको हुने क्रम आज रातीसम्म जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षासँगै काठमाडौँ उपत्यकाका साथै देशका अधिकांश भागमा लागेको तुवाँलो पनि क्रमिक रुपमा हट्ने अपेक्षा गरिएको छ ।
महाशाखाका अनुसार आज कोशी र मधेस प्रदेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानहरूमा हल्का वर्षा एवं हिमपात पनि हुनसक्ने छ ।
महाशाखाका अनुसार आज दिउँसो बागमती प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
तराई क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एकदुई स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
तराई क्षेत्रमा आज आंशिकदेखि साधारणतया बदली रही एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।