काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले विभिन्न राजनीतिक दलका नेतासँग आकस्मिक बैठक गरेका छन् ।
गएराति भएको बैठकले तत्काल अन्तरिम सरकार गठन गरि संसद् विघटन गर्ने निर्णय गरेको छ ।
गत जनवरीमा मात्रै संसदको चुनाव भएको थियो ।
नेताहरुसँगको छलफल पछि राष्ट्रपति शहाबुद्दीनले अन्तरिम सरकारले समय अगावै चुनाव गराउने प्रतिवद्धता समेत जनाएका छन् ।
आन्दोलनका क्रममा ज्यान गुमाएका पीडितको सम्झनामा बैठकले शोक प्रस्ताव पारित गरेको छ । सबै दल र सरोकारवालासँग परामर्श गरेर बनेको अन्तरिम सरकारले जतिसक्दो चाँडो निर्वाचनको व्यवस्था गर्ने राष्ट्रपतिको प्रतिवद्धता छ ।
त्यस्तै बैठकले आन्दोलनको क्रममा हिरासतमा रहेकासहित सबै बन्दीलाई रिहा गर्ने निर्णय गरेको छ । विद्यार्थी आन्दोलनका पीडित परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचारका लागि सम्पूर्ण सहयोग उपलब्ध गराइने छ ।
यस्तै विपक्षी दल बीएनपीकी अध्यक्ष खालिदा जियालाई रिहा गर्ने सर्वसम्मत निर्णय भएको छ ।
राष्ट्रपति शहाबुद्दीनले देशभरका सबै कार्यालय र अदालतहरू मंगलबार आजदेखि सामान्य रूपमा सञ्चालन हुने बताएका छन् ।
विद्यार्थी आन्दोलनका संयोजकहरूले नोबेल पुरस्कार विजेता डा. मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकारको प्रस्ताव गरेका छन् ।
विद्यार्थी आन्दोलनका प्रमुख संयोजक नाहिद इस्लाम, आसिफ महमुद र अबु बकर मजुमदारले भिडियो सन्देश मार्फत युनुसको नेतृत्वमा अन्तरिम सरकार बनाउनु पर्ने बताएका हुन् ।