Banner Nepal
पुल बगाएपछि विद्यालय नै बन्द गरियो

काठमाडौं । खोला तर्ने वैकल्पिक व्यवस्था नहुँदा जाजरकोटको शिवालय गाउँपालिकाको एक विद्यालय बन्द गरिएको छ । भदौ २ गते आएको बाढीले ट्रस्ट बगाएपछि सार्वजनिक सूचना प्रकाशित गरेर विद्यालय बन्द गरिएको हो ।

यही भदौ ४ गते सार्वजनिक सूचना प्रकाशित गरेर शिवालय गाउँपालिका–६ स्थित सडकदेवी माध्यमिक विद्यालय टुनीबगरलाइ बन्द गरिएको छ । पठनपाठन बन्द गरिएको ६ दिन बितिसक्दा पनि उक्त विद्यालय सञ्चालनमा आउन सकिरहेको छैन । रोकायजाँत, रिसिना, टुनीबगर, बुँर्दाका विद्यार्थीहरूले दैनिक शिक्षा हासिल गर्दै आएको विद्यालय पूर्ण रुपमा बन्द भएपछि ३५० जना भन्दा बढी विद्यार्थीहरू प्रभावित भएका छन् ।

विद्यालयमा आउन जानका लागि प्रयोग हुँदै आएको टुनीबगरको ट्रस्ट भदौ २ गतेको बाढीले बगाएको थियो । तत्काल खोला तर्ने वैकल्पिक व्यवस्था नभएपछि विद्यालयले सूचना प्रकाशित गरेर बन्द भएको जानकारी दिएको हो ।

पुल बगाएको एक हप्ता बितिसक्दा पनि विद्यालय सञ्चालन गर्न सरोकारवालाले कानमा तेल हालेर बसेको भन्दै अभिभावकले गुनासो गरेका छन् । 

शिवालय गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामु ज्ञवालीले भिषण वर्षा पछि आएको बाढी, पहिरोले टुनीबगरको ट्रस्ट मात्र नभएर बाटोघाटो पनि सबै बन्द गरेको बताए । केही दिनसम्म खोलाले बगाएको टुनीवगरको ट्रस्ट हेर्नलाई जान सक्ने बाटो समेत नभएको बताउँदै अधिकृत ज्ञवालीले गाउँपालिकाले स्काभेटर  प्रयोग गरेर बल्ल–बल्ल त्यहाँ पुगेर हेर्न सकिने बाटो बनाइएको छ ।

गाउँपालिका अध्यक्ष शेर बहादुर शाही हिजो मात्र गाउँपालिकाले ईन्जिनियरलाइ टुनीबगरमा पठाएर खोलाले बगाएको ट्रस्ट अध्ययन गर्न लगाइएको बताए ।  साथै तत्काल खोला तर्नलाई अस्थायी वैकल्पिक व्यवस्था के गर्न सकिन्छ भन्ने विषयमा फिल्ड अध्ययन गर्न लगाएको अध्यक्ष शाहीको भनाइ  छ । 

पानी परेको दिन बाहेक अन्य दिनमा विद्यालय बन्द गर्न आवश्यक नरहेको शिवालय गाउँपालिकाका इन्जिनियर मनोज केसीले बताए। पानी नपरेको दिनमा वारी–पारी गर्नलाई काठ प्रयोग गरेर खोला तर्न सकिने  इन्जिनियर केसीको भनाई छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  ०९:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update