
काठमाडौं । आगामी साउन १ गते देखि सवारीचालक अनुमति पत्र छपाई गर्न सबै प्रदेश सरकार तयार भएका छन् ।
यातायात व्यवस्था विभागले हालसम्म छपाई गर्न बाँकी सवारीचालक अनुमतिपत्रको छपाई गर्ने र आगामी बैशाख १ देखि साउन १ गते सम्ममा सबै प्रदेशले सवारीचालक अनुमति पत्रको छपाई गर्ने गरि निर्णय भएको हो ।
मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सातै प्रदेशका यातायात सम्वद्ध मन्त्री र सचिव सहितको विषयगत समितिको बैठकले सो निर्णय गरेको हो ।
सबै प्रदेशबाट जारी हुने सवारीचालक अनुमति पत्रमा एकरुपताका लागि यातायात व्यवस्था विभागले चालक अनुमति पत्रको ढाँचा समेत तयार पारेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा भएको बैठकले राईड शेयरीङ्लाई व्यवस्थित गर्न र प्रदेशहरु बीच नीतिगत समन्वय गरि एकरुपता गर्न प्रदेश सरकारको सहभागीतमा संघीय सरकारले नीतिगत व्यवस्था गर्ने र सम्वन्धित प्रदेशले लागु गर्ने निर्णय गरेको छ ।
यसै गरि यातायात क्षेत्रमा हुने भुक्तानी प्रणालीलाई विद्युतीय बनाउने र आगामी चैत मसान्त भित्र सबै प्रदेशबाट विद्युतीय भुक्तानी प्रणाली शुरु गर्ने निर्णय भएको छ ।
सवारी चालक अनुमति छपाई प्रदेशबाटै गर्नुका साथै ईम्बोष्ड नम्बर जडानलाई तिव्रता दिन समेत प्रदेशका मन्त्री तथा सचिवहरुले प्रतिवद्धता जनाएका छन्।
यातायात व्यवस्थापनमा संघीयताको अभ्यास
समितिको बैठकले गरेका निर्णयहरुसँगै यातायात क्षेत्रमा संघीयता कार्यान्वयनले गति लिने भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले संविधानले दिएका अधिकारहरुको कार्यान्वयनमा दर्विलो हुन प्रदेश मन्त्रीहरुलाई आग्रह गरे।
प्रदेशले पाएका अधिकार कार्यान्वयनमा संघीय मन्त्रालयले सधैं सहयोग गर्ने भन्दै उनले राजश्वमा वृद्धी हुने, नागरिकलाई छरितो रुपमा सेवा प्रवाह हुने जस्ता विषयको कार्यान्वयनलाई प्राथमिकता दिन समेत आग्रह गरे ।