Banner Nepal
कांग्रेसले बोलायो २ सय बढी नेतालाई पोखरा, पार्टी सुदृढीकरण र रणनीति तय गर्ने

काठमाडौं । नेपाली कांग्रेसले अबको रणनीनि, पार्टीको आन्तरिक जीवन र गठबन्धन तथा सरकारको काम र पार्टी सुदृढीकरणका लागि पोखरामा सातै प्रदेश र देशभरका सभापतिलाई प्रशिक्षण तथा अभिमुखीकरण गर्ने भएको छ । पोखरा २० गतेदेखि २३ गतेसम्म पार्टी सुदृढीकरण र रणनीतिबारे कांग्रेसले कार्यक्रम राखेको हो ।

कांग्रेसको प्रशिक्षण प्रतिष्ठानको आयोजनामा २२ र २३ गते पोखरामा ७७ वटै जिल्लाका सभापति, ७७ वटै जिल्लाका प्रशिक्षण शाखा प्रमुख तथा उपसभापतिलाई राखेर प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम राखिएको छ ।


२० गते पोखरा महानगर सम्मेलन र २१ गते सातै प्रदेशका सभापतिसहितको छलफल राखिएको नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले जानकारी दिए । २० गतेदेखि नै कांग्रेस सभापति शेरबहादुर देउवादेखि केन्द्रीय पदाधिकारीहरु पोखरामा हुने छन् ।

केन्द्रीय सभापतिदेखि महामन्त्रीद्वयसहित पदाधिकारी, उपलब्ध केन्द्रीय सदस्य पोखरा हुनुहुनेछ । सभापति देउवा २० गते पोखरा आएर २२ गते बेलुकासम्ममा काठमाडौं फर्किने कार्यसूची तय भएको छ ।


पार्टी महाधिवेशन, कार्यकर्ता तथा नेतृत्व निर्माण सरकारमा कांग्रेसको सहभागिता र रणनीतिदेखि आगामी चुनावसम्मको विषयमा प्रशिक्षण तथा अभिमुखीकरण हुने प्रतिष्ठानले जनाएको छ । कार्यक्रममा देशभरका करिब २ सय जनाभन्दा बढी सहभागी हुने सभापति बरालले जानकारी दिए ।

पोखराको एसआर केसी क्याटरिङमा उद्घाटन सत्र हुनेछ र त्यसलगत्तै प्रशिक्षण तथा अभिमुखीकरणको सत्र चल्ने छ । २३ गतेसम्म कार्यक्रम गरेर पोखरा घोषणा पत्र जारी गर्ने भनिएको छ । 

पर्यटन र जलवायु परिवर्तनलाई जोड्दै फेवाबाट घोषणापत्र जारी गर्ने योजना बनाइएको बरालले बताए । 

प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  १०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update