Banner Nepal
रुपन्देही जिल्ला अदालतमा रविविरुद्धको थुनछेक बहस आज पनि 

काठमाडौं । रुपन्देही जिल्ला अदालतमा आज पनि पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस चल्ने भएको छ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगी र संठगित अपराधको मुद्दामा लामिछाने बुधबार रुपन्देही जिल्ला अदालतमा हाजिर भएका थिए ।  


यसअघि शुक्रबार सहकारी पीडितका तर्फबाट दुई जना र   लामिछानेको पक्षबाट ३ जना कानुन व्यवसायीहरूले बहस गरेका थिए । अन्य कानुन व्यवसायीहरूले बहस गर्न बाँकी रहेकोले थुनछेक लम्बिइएको अदालतले जनाएको छ ।

शुक्रबार जाहेरीवालाका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र आरसी गौतमले बहस गरेका थिए ।

उनीहरूले लामिछानेको खातामा सहकारीको २ करोड रुपैयाँ गएको र उनी आफैँले चेक काटेर ४० लाख ९२ हजार सहकारीको किस्ताबापत भुक्तानी गरिएकाले सहकारी ठगीमा संलग्नताको पुष्टि भएको जिकिर गरेका छन् ।  

प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तसहित ३ जनाले बहस गरेका थिए ।  आज प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसहितका वकालतनामा लेखाएका ८ वकिलले बहस गर्ने छन् । 

प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  ०८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update