-1737777811.jpg)
काठमाडौं । पार्टीविरुद्धको आलोचना रोक्न नेकपा (एमाले)ले साइबर डेस्क स्थापना गर्ने भएको छ । एमाले कोशी प्रदेशले प्रदेशका सबै वडामा डेस्क स्थापना गर्ने भएको हो।
प्रदेश कमिटीको बैठकले फागुनको दोस्रो हप्ताभित्र डेस्क स्थापना गरिसक्ने निर्णय गरेको प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले बताए ।
एमालेले फागुन १५ गतेभित्र १३ सयभन्दा बढी साइबर डेस्क स्थापना गर्न निर्देशनसहितको पत्र मातहतका निकायमा पठाइसकेको छ ।
डिजिटल प्रविधिमैत्री कार्यकर्ताको ६ हजार ५४५ जनाको टिमलाई डिजिटल साइबर फोर्समा आबद्धगरी परिचालन गरिने खतिवडाले बताए ।
फोर्सलाई फागुन महिनाभित्र एउटै साइबर ग्रुप तथा लिङ्कमा जोडेर त्यसमार्फत् सामाजिक सञ्जालको पहुँचमा रहेका अन्य सबै सदस्यहरूलाई साइबर हमला विरुद्धको प्रतिवादमा परिचालन गरिने एमालेको योजना छ ।
ग्रुप तथा लिङ्कमा जोडिएकाहरूले आ–आफ्नो मोबाइलबाट पार्टीको सकारात्मक प्रचार गर्नुपर्ने निर्देशन छ । पार्टीले उनीहरूलाई साइबर हमला विरुद्धको प्रतिवादमा उतार्न लागेको हो ।
पार्टीको नीति र नेतृत्वविरुद्ध भइरहेको घेराबन्दी, षड्यन्त्र र फैलाइएका एक–एक भ्रमहरूको डिजिटल साइबर फोर्समार्फत् प्रतिवाद गर्ने नेताहरूले बताएका छन् ।
कुनै पनि सदस्यले पार्टीको नीति र नेतृत्वविरुद्ध नलेख्नसमेत प्रदेश कमिटीले कार्यकर्तालाई उर्दी जारी गरेको छ । नीति र नेतृत्वविरुद्ध लेख्नेलाई अब पार्टीले कडा कारबाही गर्ने चेतावनी समेत दिइएको छ ।
एमालेले पार्टीका सदस्यहरूको सामाजिक सञ्जालको अकाउन्टसमेत जाँच गर्ने बताएको छ । अब सबै कार्यकर्ताको सामाजिक सञ्जाललाई पार्टीले निगरानी गर्ने भएको छ ।
यसकालागि एमालेले माघ महिनाभित्र सामाजिक सञ्जाल चलाउने नेता, कार्यकर्ता र सदस्यको विवरण सङ्कलन गर्ने तयारी गरेको छ ।
अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध सामाजिक सञ्जालमा चर्को आलोचना हुन थालेपछि कोशी प्रदेश कमिटीले साइबर प्रतिरक्षाको तयारी गरेको एमाले नेताहरुको भनाइ छ ।