-1737520274.jpg)
काठमाडौं । बुटवलको सुप्रिम सहकारीको रकम ठगी गरेको अभियोगमाथि रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको आज रुपन्देही अदालतमा थुन छेक बहस हुँदैछ ।
बुधवार रुपन्देही जिल्ला अदालतमा हाजिर भएपछि अदालतले बयान सकेर उनलाई परिवार र प्रतिवादीका वकिलको जमानीमा छाडेको थियो
लामिछानेसँग बयान लिएका जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीले थुनछेक बाँकी रहेकाले मुद्दा हेर्दाहेर्दैमा राखेर लामिछानेलाई श्रीमती र उनकै पक्षका कानुन व्यवसायीको जिम्मामा छोड्ने आदेश गरेका थिए ।
रविले हिरासतबाहिरै बसेर थुनछेक बहसमा सहभागी हुन पाउनुपर्ने अपिल गरे अनुरुप रुपन्देही अदालतले उनको मागबमोजिम अदालतमा उपस्थित हुने सर्तमा हिरासतबाहिरै बस्ने सुविधा दिएको हो ।
थुनछेक बहसमा सरकारी वकिलका तर्फबाट उच्च सरकारी वकिलको कार्यालय बुटवलका प्रमुख सह–न्यायाधिवक्ता सोमकान्ता भण्डारी, जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख प्रेमराज पौडेल, न्यायाधिवक्ता उमाकुमारी केसी, गोकर्णराज घिमिरे, वसन्तराज पोखरेल लगायतले बहस गर्ने छन् ।
सहकारी पीडितका तर्फबाट दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले बहस गर्नेछन् । त्यसैगरी लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, नारायणदत्त कँडेल, सुरेन्द्र थापा, अधिवक्ता पशुपति भण्डारीसहितले बहस गर्ने तयारी छ ।