काठमाडौं । आरक्षण प्रणालीविरुद्ध विद्यार्थीले गरेको आन्दोलन सरकारविरुद्ध खनिएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छाडेकी छन् ।
कर्फ्यूका बीच सोमबार लाखौंको संख्यामा रहेका आन्दोलनकारीले ढाकामा लङमार्च गरेका थिए ।
बंगलादेशको राजधानी ढाकाको स्थानीय समयअनुसार दिउँसो करिब साढे २ बजे उनी आफ्नो बहिनीसँगै सैनिक हेलिकप्टरमा भारततर्फ प्रस्थान गरेकी हुन् ।
बीबीसी बंगला र ढाका ट्रिब्युनले स्रोतलाई हवाला दिँदै हसिना भारत छिरेको पुष्टि गरेका छन् ।
पछिल्लो आन्दोलनका क्रममा बंगलादेशमा ३ सय बढीको मृत्यु भइसकेको छ । हजारौं घाइते भएका छन् । सरकारले २५ हजारभन्दा बढी प्रदर्शनकारीलाई गिरफ्तार गरेर हिरासतमा राखेको छ ।
सोमबार प्रदर्शनकारीले गरेको ’लङ मार्च’का क्रममा प्रधानमन्त्री हसिनाको सरकारी आवासमा ढुंगा हानिएको थियो । आफू सुरक्षित नहुने देखेर उनले देश छाडेको आँकलन गरिएको छ ।
हसिनाकोप्रारम्भिक जीवन र पृष्ठभूमि
अहिले देश छाड्न बाध्य भएकी बंगलादेशी प्रधानमन्त्री हसिनाको जन्म सन् १९४७ को सेप्टेम्बर २८ मा तत्कालीन पूर्वी पाकिस्तान (हालको बंगलादेश)मा भएको थियो ।
उनी बंगलादेशका संस्थापक नेता एवं पहिलो राष्ट्रपति शेख मुजीबुर रहमानकी छोरी हुन् ।
हसिनाको परिवार बंगलादेशको राजनीतिमा गहिरो गरी संलग्न थियो भने उनका बुवा देशको स्वतन्त्रता संग्रामका नेतृत्वकर्ता थिए ।
आफ्नो बुवाको प्रभावका कारण हसिनाले सानैदेखि आवामी लीगमा संलग्न रहेर राजनीति गर्न थालेकी थिइन् । आवामी लीगले बंगलादेशको स्वतन्त्रता आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेको थियो ।
सन् १९७५ मा भएको सैनिक कूमा उनका बुवा र परिवारका धेरैजसो सदस्यहरूको हत्या भयो, तर हसिना र उनकी बहिनी पश्चिम जर्मनीमा रहेकाले बाँच्न सफल भए ।
उनी लामोसमय भारत र बेलायतमा निर्वासनमा बसिन् ।
सन् १९८१ मा निर्वासनमा रहँदा नै उनी अवामी लीगको अध्यक्षमा निर्वाचित भएकी थिइन् । त्यसपछि उनी बंगलादेश फिर्ता भइन् । उनको फिर्तीले अवामी लीगका धेरै समर्थकमा आशा जगाएको थियो ।
सन् १९८६ मा भएको आम निर्वाचनमा उनी प्रमुख विपक्षी दलको नेताका रूपमा स्थापित भइन् । त्यसपछि उनले राजनीतिमा पछि फर्केर हेर्नुपरेन ।
सन् १९९६ को आम निर्वाचनमा उनको पार्टी अवामी लीगले भारी बहुमत हासिल ग¥यो । हसिनाले १९९६ देखि २००१ सम्म ५ वर्षे कार्यकाल सफलतापूर्वक निर्वाह गरिन् ।
पहिलो कार्यकालमा उनले विभिन्न आर्थिक सुधारहरूको शुरूवात गरिन् भने महिला अधिकारको पक्षपोषण गरिन् । सन् १९९७ मा चटगाँउ हिल ट्र्याक्ट्स शान्ति सम्झौतामा हस्ताक्षर गरेर आफ्नो देशभित्र चलिरहेको दशकौं लामो विद्रोह समाप्त पार्न उनले खेलेको भूमिकाको अहिले पनि प्रशंसा हुन्छ ।
दोस्रो कार्यकालबाट निरंकुशताको शुरूआत
सन् २००८ को चुनावमा भारी बहुमत ल्याएपछि उनी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बनिन् । यो कार्यकालमा आर्थिक सुधारमा जोड दिएपनि उनको निरंकुश शैलीका कारण त्यति प्रख्याति हासिल गर्न भने सकिनन् ।
दोस्रो कार्यकालमा उनले ’डिजिटल बंगलादेश’ पहलको शुरूआत गरिन् । बंगलादेशलाई मध्यम आय भएको राष्ट्रको रूपमा लैजान पहल गरिन्, तर उनले जनताको मन जित्ने गरी काम गर्न सकिनन् ।
सन् २०१४ को आमनिर्वाचनलाई त्यहाँको विपक्षी पार्टीहरूले बहिष्कार गरे । उनको निरङ्कुश र स्वेच्छाचारी शैली नमान्ने भन्दै विभिन्न आन्दोलनहरू भयो । तर, उनले सेना परिचालन गरेर विपक्षीको आवाज दबाइन् । हजारौं विपक्षी नेतालाई जेलमा राखेर गरिएको निर्वाचनमा उनले बहुमत हासिल गरिन् । तेस्रो कार्यकाल अलोकप्रियताका बीच गुज्र्यो ।
अन्तर्राष्ट्रिय समुदायले पनि निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठाएको थियो, तर उनको निरङ्कुश शैली सच्चिएन । विपक्षीहरूको मुख थुनेर उनीहरूको बहिष्कारबीच फेरि बंगलादेशमा अर्को निर्वाचन भयो ।
सन् २०१८ को डिसेम्बरमा सम्पन्न निर्वाचनमा धाँधली गराएर उनी चौथो कार्यकालका लागि प्रधानमन्त्री बनिन् । विवादका बीच ५ वर्ष गुजारेपछि उनी पुनः प्रधानमन्त्री बन्ने ध्याउन्नमा लागिन् ।
यही ७ जनवरी २०२४ मा भएको अर्को आमनिर्वाचन जितेर उनी पाचौं कार्यकालका लागि प्रधानमन्त्री बनिन् । जम्मा ४० प्रतिशत मत खसेको थियो भने विपक्षीहरूले यसअघि झैँ निर्वाचन बहिष्कार गरेका थिए ।
उनीमाथि निरंकुशताको ट्याग लाग्दै गयो । कोटा प्रणालीविरुद्ध विद्यार्थीहरूले आन्दोलन शुरू गरेपछि सडकमा उत्रेका सुरक्षाकर्मीले सयौंको ज्यान लिएका थिए । उनीमाथि सत्ता छाड्न त्यहींको सेना, गुप्तचर निकाय र पूर्व सेनाप्रमुखहरूको दबाब थियो ।
पाँचौं कार्यकालको शुरूदेखि नै अलोकप्रिय बन्दै गइरहेकी प्रधानमन्त्री हसिनाले अन्ततः देश छाड्नु परेको छ ।
अब के ?
हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिएर देश छाडेपछि बंगलादेशमा अन्तरिम सरकार बन्ने भएको छ । बंगलादेशी सेना प्रमुख जनरल वकार–उज–जमानले सञ्चारमाध्यमलाई सम्बोधन गर्दै अन्तरिम सरकार बन्ने बताएका हुन् ।
राजधानी ढाकामा रहेको प्रधानमन्त्री शेख हसिनाको सरकारी निवासमा हजारौं प्रदर्शनकारी प्रवेश गरेको बीबीसी बंगलालाई उद्धृत गर्दै बीबीसी हिन्दीले लेखेको छ ।
उनी सैन्य हेलिकप्टरमा भारतको त्रिपुरा राज्यको राजधानी अगरतला पुगेको बीबीसीले उल्लेख गरेको छ ।