
काठमाडौं । नेकपा एमालेले सचिवालयको बैठक बोलाएको छ। बैठक बेलुका चार बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने छ ।
पुस तेस्रो साता बसेको एमाले केन्द्रीय कमिटी बैठकपछि सचिवालय बैठक बस्न लागेको हो । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताए ।
बैठकमा यहीँ १८ गतेलाई आह्वान भएको संसद्को हिउँदे अधिवेशनसँगै समसामयिक राजनीतिमा छलफल गर्ने एमालेको तयारी छ ।
सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकका निर्णयसहित अन्तरपार्टी निर्देशन (अपानी) जारी गर्ने तयारी गरेको छ ।
साथै, बैठकले नेता वामदेव गौतमलाई पार्टीमा भित्र्याउने तयारी गरेकाले उनलाई दिने जिम्मेवारीका बारेमा पनि छलफल हुने बताइएको छ । नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारी गरेका गौतम पछिल्लो समय एमालेको निम्तो पर्खेर बसेका छन् ।
गौतम नेकपा एकता राष्ट्रिय अभियानका संयोजक हुन्। उनले शुक्रबार मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि एमालेका फर्किने बताएका थिए।