Banner Nepal
निर्माणमा संलग्न सवै पक्ष जिम्मेवार बन्नु पर्छ : भौतिक पूर्वाधार मन्त्री दाहाल

६ माघ २०८१
नेपालगञ्ज,
 भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पूर्वाधार निर्माणमा सवै क्षेत्र जवाफदेही र जिम्मेवार बन्न आवश्यक रहेको बताउनु भएको छ । उहाँले संरचना डिजाईन देखि ठेक्का प्रकृया, ठेक्का स्विकृति, डिजाईन स्विकृति, कन्सल्ट्यान्ट सवै पक्ष जिम्मेवार बने मात्र संरचनाहरु दिगो र सुरक्षित बन्ने बताउनु भएको हो ।  

नेपालगञ्जमा आयोजीत संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय सुर्खेत अन्तर्गतका कार्यालय प्रमुखहरु सहभागी कार्यशालाको आईतबार समापनका क्रममा उहाँले योजना तथा आयोजना स्विकृति दिने, अनुगमन गर्ने तथा कार्यान्वयन गर्ने सवै पक्षलाई जिम्मेवार बनाउन समेत कर्मचारीहरुलाई निर्देशन दिनु भयो ।

मन्त्रालयले पुर्वाधार निर्माण क्षेत्रमा देखिएका समस्या समाधानका लागि विभिन्न चरण गरि देश भरका कर्मचारीहरुलाई अभिमुखीकरण गरिएको भन्दै मन्त्री दाहालले निर्माण व्यवसायीहरुलाई समेत लक्षित गरि यस प्रकारको कार्यक्रम गरिने बताउनुभयो । 

कतिपय आयोजनाहरुमा विमाको विषयमा समेत समस्या देखिएको भन्दै उहाँले यस्ता समस्या आउन नदिने सरोकारवाला पक्षहरुसँग छलफल अघि बढाउन समेत उहाँले निर्देशन दिनु भएको छ । कुनै पक्षको कमजोरीका कारण आयोजना एवम् संरचनामा समस्या आउन नहुने भन्दै मन्त्री दाहालले समस्या कहाँ छ पहिचान गर्न र समाधानमा लाग्न समेत निर्देशन दिनु भएको छ । कानूनी वा नीतिगत समसया भए मन्त्रालयले समाधान गर्ने भन्दै उहाँले कार्यान्वयनका तहमा कुनै पनि समस्या आउन नदिन उहाँको निर्देशन छ । 

कतिपय आयोजनाहरु सरकारी निकायहरु विचकै समन्वय अभावमा समस्या पर्ने गरेको भन्दै त्यस्तो अवस्था आउन नदिने समेत उहाँले आग्रह गर्नु भयो । खानेपानी, विद्युत, वन लगायत विषयका कारण आयोजनामा ढिलाई हुन नदिन उल्लेख गर्दै मन्त्री दाहालले चुस्त, छरितो र जनमूखी सेवा प्रवाहमा जुट्न जरुरी रहेको समेत उल्लेख बताउनुभयो ।

मन्त्रालयले सडक विभाग अन्तर्गतका कार्यालयहरुलाई लक्षित गरि आयोजना सञ्चालन एवम् व्यवस्थापनका सम्वन्धमा कर्मचारीहरुलाई प्रशिक्षित गरेको हो । मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरी पोखरेल एवम् विभिन्न विषका विज्ञहरुले प्रशिक्षण दिनु भएको हो ।  
 

प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  २०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update