
काठमाडौं । अध्यक्षसहित अधिकांश पदाधिकारी एमाले निकट प्रेस चौतारी नेपालमा प्रवेश गरेपछि समाजवादी प्रेस संगठन नेपाल नेतृत्वविहीन बनेको छ । विश्वमणि सुवेदीसहितको बहुसंख्यक पदाधिकारीको टोली ने चौतारीमा गएपछि प्रेस संगठन नेतृत्वविहीन भएको हो ।
काठमाडौंमा आयोजित कार्यक्रममा एमाले महासचिव शंकर पोखरेल, प्रचार विभाग प्रमुख राजेन्द्र गौतमसहितको टोलीले सुवेदीसहितको टीमलाई पुरानो पार्टीमा स्वागत गरेका हुन् । सुवेदीसँगै संगठनका उपाध्यक्ष सविन शर्मा, महासचिव रामकुमार एलन, सचिव नेपोलियन चेपाङ, कोषाध्यक्ष कृपा भण्डारी, केन्द्रीय सदस्यहरू आशिष गुरागाईं, सौगात मिश्र, नरेन्द्र विष्ट पनि प्रेस चौतारीमा प्रवेश गरेका छन् ।
माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को भ्रातृ संगठनका रुपमा रहेको समाजवादी प्रेस संगठनको २०८० जेठमा सम्पन्न महाधिवेशनबाट सुवेदी अध्यक्षमा निर्वाचित भएका थिए । पार्टी भित्र सुवेदीको कार्यशैलीलाई लिएर आलोचना भएपछि दलबलसहित उनी प्रेस चौतारीमा समाहित भएका हुन् । पार्टी विभाजनअघि सुवेदी प्रेस चौतारीका उपाध्यक्ष थिए ।
पार्टी विभाजन भएपछि प्रेस चौतारी छोडेका उनीहरुले समाजवादी प्रेस संगठन स्थापना गरेका थिए ।