Banner Nepal
रविमाथि मुद्दाको खातै-खात आज रुपन्देहीमा दर्ता गरिदै, चितवन र पर्सामा पनि  दर्ताको तयारी 

काठमाडौं । रुपन्देहीको बुटवलमा सञ्चालित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध आज शुक्रबार मुद्दा दर्ता गर्ने तयारी गरिएको छ ।


 जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले शुक्रबार जिल्ला अदालत रुपन्देहीमा मुद्दा अभियोजन गर्ने जनाएको हो । 

गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशी बञ्जाडेविरुद्ध  शुक्रबार पूरक अभियोजन गर्ने तयारी भएको जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता प्रेमराज पौडेलले जानकारी दिए ।
सुप्रिमबाट रविकै नाममा २ करोड रूपैयाँ गोर्खा मिडियामा गएको देखिन्छ । रविले नक्कली ऋणी खडा गरेर ऋण लिएका थिए । सरकारी वकिल कार्यालय रुपन्देहीमा भने रविले इन्कारी बयान दिएका थिए ।
प्रतिवादीमध्ये रविलाई उनको नाममा गएको २ करोड र गोर्खा मिडियामा गएको रकममध्ये सामूहिकतर्फ २ करोड १५ लाख २८ हजार गरी ४ करोड १५ लाख २८ हजार बिगो मागदाबी गर्ने तयारी छ ।

त्यस्तै, जोशीलाई २ करोड ५० लाख व्यक्तिगत र मिडियाको सामूहिक १ करोड ७७ लाख ८८ हजार गरी ४ करोड २७ लाख ७८ हजार रूपैयाँ बिगो दाबी गर्ने तयारी छ ।

रुपन्देहीमा अभियोजन भएपछि रवि अदालतमा आफैं उपस्थित नभए प्रहरीले पक्राउ गरेर लैजाने छ । तर, रवि अदालतमा आफैं उपस्थित हुने तयारीमा छन् । 

बुधबार मात्रै स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतले रविलाई ६० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । यसअघि कास्की जिल्ला अदालतले ६५ करोड धरौटी मागी छाडेको थियो । कास्क‍ीबाट छुट्दा रविले काठमाडौं अदालतमा आफैं उपस्थित हुने भनेर कागज गरेका थिए । 

सहकारी ठगी प्रकरणमा रविविरुद्ध चितवन र पर्सामा पनि मुद्दा दर्ताको तयारी छ । 


जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले बिहीबार यसअघि नै अभियोजन भइसकेका गितेन्द्रबाबु राई (जीबी राई) लगायतको मुद्दामा बिगो बढाएको छ । रुपन्देही अदालतमा यसअघि २८ जनाविरुद्ध मुद्दा दर्ता भएकोमा बिहीबार जीबी राईलगायत १७ जनाविरुद्ध बिगो बढाएको हो । 

यसअघि नै प्रतिवादी बनाइएका जीबी राई, ओमप्रकाश गुरुङ, सागर केसी र दिनेश रोकासहित १७ प्रतिवादीविरुद्ध संगठित अपराधमा पनि अभियोग लगाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  ०९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update