Banner Nepal
इजरायली आक्रमणमा फताहका उच्च नेताको मृत्यु

काठमाडौं । लेबनानको दक्षिणी सहर सिदोनमा बुधबार इजरायली आक्रमणमा फताहका एक अधिकारीको मृत्यु भएको प्यालेस्टिनी समूहका एक वरिष्ठ सदस्य र एक सुरक्षा स्रोतले बताएका छन् ।

इजरायल र लेबनानको हिजबुल्लाह आन्दोलनबीच १० महिनाभन्दा बढी समयदेखि जारी सीमापार झडपमा प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासको नेतृत्वमा रहेको फताहविरूद्ध भएको यो पहिलो आक्रमण हो ।

गाजाको प्यालेिस्टनी इस्लामी शासक हमासलाई टक्कर दिने समूहका एक वरिष्ठ सदस्य फाथी अबु अल–अरादातले भन्नुभयो, “सिदोनमा इजरायलले गरेको आक्रमणमा फतह समूहका अधिकारी खलील मकदाहको मृत्यु भएको छ ।

लेबनानको एक सुरक्षा स्रोतले एएफपीलाई घटनाबारे पुष्टि गर्दै उहाँको कारमा ड्रोन आक्रमण भएपछि उहाँको मृत्यु भएको बताएको छ । घटनास्थलमा रहेका एएफपी संवाददाताका अनुसार प्यालेस्टाइनको ऐन अल–हेल्वेह र मिह–मिहको शिविर नजिकै एउटा कारलाई ठक्कर दिइएको थियो ।

लेबनानको सरकारी राष्ट्रिय समाचार एजेन्सीका अनुसार मकदाहको कारमा भएको ड्रोन आक्रमणमा मृत्यु भएको हो । फताहको सशस्त्र शाखा अल अक्सा सहिद ब्रिगेडको लेबनानी शाखाका प्रमुख मौनीर मकदाहले सञ्चारमाध्यम अल मायादीनसँग ‘आफ्ना भाइ’ खलीलको हत्या भएको बताउनुभएको छ । 

खलील अल–अक्सा शहीद ब्रिगेडका कमान्डर रहेको मकदाहले बताउनुभयो । प्यालेस्टिनी लडाकू समूहले गत अक्टोबर ७ मा इजरायलमाथि गरेको आक्रमणपछि गाजा युद्ध चर्किएपनि हिजबुल्लाह र उसका सहयोगीहरूले आफ्नो सहयोगी हमासको समर्थनमा इजरायलविरूद्ध नियमित आक्रमण गर्दै आएका छन् ।

तर फताहले लेबनानबाट इजरायलमाथि कुनै पनि आक्रमणको घोषणा गरेको छैन न त लेबनानमा इजरायली आक्रमणमा मारिएका सदस्यहरूप्रति शोक व्यक्त गरेको छ ।

सन् २००६ को चुनावमा हमासको शानदार विजयपछि भएको घातक भिडन्तपछि हमासका लडाकुहरूले गाजा पट्टीबाट फताहलाई बाहिर निकालेपछि हमास र फताह कटु प्रतिद्वन्द्वी बनेका छन् ।

फताहले प्यालेस्टिनी प्राधिकरणको नेतृत्व गर्छ, जसको इजरायलको कब्जामा रहेको वेस्ट बैंकमा आंशिक प्रशासनिक नियन्त्रण छ ।

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  २०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update