
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा०का उपाध्यक्ष बिक्रम पाण्डेले नेपालमा राजसंस्था र हिन्दूत्वका लागि सबै एकजुट हुन आग्रह गरेका छन् ।
हङकङमा आयोजित पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा पाण्डेले राप्रपाले अघि सारेको सैद्धान्तिक विषयलाई साथ दिन आग्रह गरेका हुन् ।
सह–महामन्त्री बिजय खड्कासहित हङकङ पुगेका पाण्डेले प्रवासी नेपाली एकता समाजले गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पृथ्वी नारायण शाहले गरेको योगदान आम नेपालीकालागि गर्वको विषय रहेको उल्लेख गरे ।
‘पृथ्वीनारायण शाहको बारेमा जसरी चिन्ता लिनु भएको छ। त्यसरी नै दिनुहोस्’, पाण्डेले भने,‘विदेशीले नागरिकता पाउनुपर्छ भनेर नागरिकता विधेयक बनाइयो तर विदेशिएकाले नेपालमा लगानी गर्छु भन्दा गाह्रो छ।’
देशलाई माया गर्ने नेपाली एक नहुँदासम्म, रैथाने भाषा र जाती एक नहुँदासम्म अनि सनातनी हिन्दूको छातामा आएन भने मुलुक बाँच्न सक्तैन भन्दै पाण्डेले भने,‘हाम्रो एकता पृथ्वीनारायण शाहले दिएको दिव्योपदेशअनुसार चल्नुपर्छ।’
गोरखाबाट आएका राजाले देशको नाम नै गोरखा बनाउन सक्ने अवस्था हुँदाहुँदै सबैलाई समेटेर नेपाल बनाएको स्मरण गर्दै पाण्डेले भने,‘मूल्यवान संस्कृति जोगाउनका लागि एक बनौं।’
पाण्डेको उपस्थितिमा समाजका अध्यक्ष तुलसी उप्रेतीले कृति चिल्ड्रेन सेन्टरलाई नेपाली डेढ लाख बराबरको नगद सहयोग गरेका थिए। अटिज्मसम्बन्धी बालबालिकाको उपचारका लागि उनले यस्तो सहयोग गरेका हुन्।