Banner Nepal
रास्वपा सभापति लामिछाने जिल्ला अदालत काठमाडौंमा उपस्थित, बयान लगत्तै थुनछेक बहस हुने 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन् । काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा परेकाले उनी जिल्ला अदालतमा हाजिर भएका हुन् । 


पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते मात्र धरौटीमा रिहा भएका  लामिछानेलाई शुक्रबार नै अदालतमा हाजिर हुन भनिएको थियो । तर पोखराबाट काठमाडौँ आउँदा साँझ परेकोले उनी आज मात्र अदालतमा हाजिर भएका हुन् ।


जिल्ला अदालतमा सुरुमा रवि लामिछानेको बयान हुनेछ । बयान पुरा भएपछि थुनछेक बहस सुरु हुने कानुनी व्यवस्था छ । थुनछेकपछि उनलाई रिहा गर्ने वा थुनामा पठाउने भन्ने आदेश हुन्छ ।


स्वर्णलक्ष्मीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका लेखा समिति सदस्य सुनिता नेवा र ऋण उप समिति सदस्य कमल लामा धरौटीमा रिहा भैसकेका छन् । स्वर्णलक्ष्मीमा रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशी सहित ३९ जनालाई प्रतिवादी कायम गरिएको छ ।


लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी, चितवनको सहारा चितवन र पर्साको सानो पाइला सहकारीमा पनि ठगी आरोपमा पनि मुद्दा दर्ताको तयारी भइरहेको छ । 

प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  ०९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update