Banner Nepal
प्रमुख विपक्षी दलहरु संविधान संशोधनकालागि छलफलमा जुट्दै, सरकार भने म्याद सार्दै

काठमाडौं । विपक्षी दलहरू संविधान संशोधनको एजेन्डाबारे छलफलमा जुटेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू पछिल्लो समय छलफलमा जुटेका हुन् । उनीहरुबीच बिहीबार  सिंहदरबारमा सोही एजेण्डामा संवाद भएको छ ।

बिहीबार सिंहदरबारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहितका नेताहरूबीच भेट भएको हो ।


 भेटमा समाजवादी मोर्चाको सक्रियता र संविधान संशोधनका एजेन्डाहरूका सम्बन्धमा छलफल भएको माओवादी केन्द्रका महासचिव देव गुरुङले पुष्टि गरे ।


नेकपा माओवादी केन्द्रको हालै सम्पन्न केन्द्रीय समितिको बैठकले संविधान संशोधनका लागि तीनवटा एजेन्डा अगाडि बढाएको छ । जसमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र संसद् सदस्य बाहिरबाट समेत मन्त्री बन्न पाउने व्यवस्था संविधानमा राख्ने भनिएको छ ।

यी एजेन्डालाई  माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले समेत अनुमोदन गरिसकेको छ । 

यसैबीच प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८७ सालमा संविधान संशोधन हुन्छ भन्ने अभिव्यक्ति दिएका छन् । उनको यो अभिव्यक्ति पछि सत्ता गठबन्धनभित्र तरङ्ग सिर्जना भएको छ । केन्द्रीय कमिटीको बैठकमा ओलीले तत्काल संविधान संशोधन सम्भव नहुने बताएका थिए ।

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  ०९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update