Banner Nepal
रुग्ण आयोजना व्यवस्थापनमा ध्यान दिन भौतिक  मन्त्री दाहालको निर्देशन

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले रुग्ण आयोजना व्यवस्थापनमा ध्यान दिन कर्मचारीहरुलाई निर्देशन दिएका छन्।

अलपत्र र रुग्ण आयोजनाहरुका कारण विकास निर्माण कार्य रोकिन नहुने भन्दै उनले जुनसुकै कारणले रोकिएका भए पनि त्यस्ता आयोजनाहरुको व्यवस्थापनमा ध्यान दिन आग्रह गरेका हुन् ।

सडक विभाग मार्फत बुधबार मोरङको विराटचोकमा आयोजित आयोजना सञ्चालन तथा व्यवस्थापन सम्वन्धि कर्मचारीको गोष्ठिलाई सम्वोधन गर्दै मन्त्री दाहालले रुग्ण आयोजना व्यवस्थापन एवम् बेरुजू फस्र्यौटलाई समेत ध्यान दिन निर्देशन दिएका हुन्।

गोष्ठिलाई संवोधन गर्दै मन्त्री दाहालले भने , ‘कुनै ऐन, कानूनले समस्या पारेको छ भने हामीलाई भन्नुहोला, त्यसलाई समाधान गर्न मन्त्रालय लाग्छ ।

सरकारले काम गर्छ तर अव योजना अवरुद्ध पार्ने कार्य मान्य हुँदैन ।’ कतिपय सरकारी निकायहरु विचनैं समन्वय नहुँदा पनि काममा ढिलाई हुने गरेको उल्लेख गर्दै सडक, विद्यूत, खानेपानी, वन लगायतका निकायहरु विच समन्वय गरि निर्माण कार्यलाई गति दिन उनले निर्देशन दिए । 

मन्त्रालयले लोकप्रियताका लागि नभई आवश्यकता र औचित्यका आधारमा योजना छनौट गर्ने भन्दै कर्मचारीहरुलाई पनि योजना छनौट र सिफारिस गर्दा त्यस तर्फ ध्यान दिन आग्रह गरे।

नागरिकले कर्मचारी मार्फत सरकारको अनुभूती गर्ने भएकाले लक्ष्य हाँसिल हुनेगरि सरल ढंगबाट सेवा प्रवाह गर्न समेत आग्रह गरे।

मन्त्रालयका सचिव केशवकुमार शर्माले असल नियत राखेर दृढतापूर्वक कार्य सम्पादन गर्न भन्दै राम्रो नियतले काम गर्दा समस्या भए मन्त्रालयले सहजीकरण गर्ने बताए । उनले समेत रुग्ण आयोजनाहरु पहिचान गरि प्राथमिकता दिएर व्यवस्थापन गर्न निर्देशन दिए ।

यस्तै सडक विभागका महानिर्देशक रामहरी पोखरेलले सडक संरचनाहरु निर्माण गर्दा सुरक्षा र दिगोपनालाई प्राथमिकता दिएको भन्दै सोहि ढंगबाट काम गर्न निर्देशन दिए ।

मन्त्रालयले दिएको १७ बुँदे निर्देशन सार्वजनिक गर्दै उहाँले सो निर्देशनको पालना र कार्यान्वयनका आधारमा दण्ड र पुरस्कारको व्यवस्था गर्ने पनि उल्लेख गरे
कार्यक्रममा संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख विनोदकुमार मौवारले मातहतका कार्यालयहरु मार्फत भएका कार्यसम्पादन बारे जानकारी दिँदै लक्ष्य हाँसिल गर्ने गरि कार्यसम्पादन भई रहेको बताए ।

गोष्ठिमा सडक विभागका उपमहानिर्देशक विजय जैशी, मन्त्रालयका लेखा प्रमुख मधु पोखरेल, सडक विभागका लेखा प्रमुख रविन कोईराला, मन्त्रालयका उपसचिव कृष्णचन्द्र पौडेल, सिडीई अमित वर्मा, ईन्जिनियर सुजित धितालले विभिन्न विषयमा सहजीकरण गरेका थिए ।
 

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  ०९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update