काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री लेखराज भट्टले पूर्वसचिव भीम उपाध्यायले नशा सेवन गरेर आफ्नो चरित्रहत्या गर्न एमाले छाडेको अफवाह फैलाएको आरोप लगाएका छन् ।
पूर्वसचिव उपाध्यायले मंगलबार फेसबुकमा भट्टको फोटो राखेर उनले एमाले छाडेर माओवादीमा फर्किन लागेको फेसबुकमा पोष्ट गरेका थिए । लगत्तै भट्टले त्यसको खण्डन गरेका थिए ।
पूर्वसचिव उपाध्यायको पोष्टलाई माओवादी कार्यकर्ताले सामाजिक सञ्जालमा प्रचार गरिरहेका बेला भट्टले भीम उपाध्यायले नशा उत्रिएपछि माफी मागेर सो स्टाटस हटाएको बताए ।
भट्टले भने, ‘कैयौं मान्छेहरु देख्नमा बौद्धिक लाग्छन्, तर उनीहरुमध्ये कैयौं मान्छेले गाँजा खाएर कमेन्ट गरेको देख्छु । नशा गरेर स्टाटस लेख्छन् कि जस्तो पनि मलाई लाग्छ ।
भीम उपाध्यायकै कुरा गर्ने हो भने उहाँको विवेक के हो, बौद्धिकता के हो भन्ने यहीबाट प्रस्ट हुन्छ नि ! म मन्त्री भइसकेको चिनजानकै मान्छे, एमालेको केन्द्रीय सचिव पनि हुँ । यसो फोन गरे हुन्न ? उहाँहरुले समाजलाई कहाँ लैजान खोज्दै हुनुहुन्छ । पछि साँझ फेरि नशा उत्रियो कि उहाँले सच्याउनुभयो, तर पनि यसमा माओवादीको षड्यन्त्र पनि छ ।’
सचिव भट्टले तत्कालीन नेकपा एकताको शर्त प्रचण्डले पालना नगरेका कारण आफूले प्रचण्डसँगको २०३७ सालदेखिको सहकार्य तोडेर केपी ओलीलाई साथ दिएको बताए ।
उनले अब एमालेमा कुनै पूर्व समूह नरहेको भन्दै एमाले छाड्ने कुरा कल्पना पनि नगरेको प्रस्ट पारेका छन् ।