काठमाडौं । परराष्ट्र सचिवमा अमृतबहादुर राई नियुक्त भएका छन् । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले राईलाई परराष्ट्र सचिवमा बढुवा गरेसँगै बुधाबर दिउसो राईले पदभार ग्रहण गरिसकेका छन् ।
परराष्ट्र सेवाका सहसचिवमध्ये बरिष्ठताका आधारमा उनी सचिवमा बढुवा भएर नियुक्त भएका हुन् ।
परराष्ट्र सचिव सेवा लम्साल बेल्जियमका लागि नेपाली राजदूत नियुक्त भएपछि रित्तः रहेको सचिवमा सहसचिव राईलाई बढुवा गरेर नियुक्त गरिएको हो ।
राई यसअघि २०७५ सालमा न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि नियुक्त भएका थिए । यस अघि उनी न्युयोर्कमै काउन्सिलरको रुपमा पनि कार्यरत थिए भने दक्षिण अफ्रिकाको राजदूत समेत भइसकेका छन् ।
परराष्ट्र सचिव राई सन् १९९६ मा निजामती सेवामा प्रवेश गरेका थिए । त्यसपछि उनी सन् २००५ मा उपसचिवका रूपमा परराष्ट्र सेवामा प्रवेश गरेका थिए । त्यसपछि उनले कूटनीति र सार्वजनिक सेवाको क्षेत्रमा विभिन्न पदमा रही कार्य गर्दै आएका छन् ।
राईले परराष्ट्र मन्त्रालयमा संयुक्त राष्ट्र संघ, अन्तर्राष्ट्रिय संगठनहरू र अन्तर्राष्ट्रिय कानुन महाशाखाको सहसचिव र डिभिजन प्रमुखको रूपमा काम गरेका थिए । उनले जुलाई २०२३ देखि उक्त जिम्मेवारी सम्हाल्दै आएका थिए । कायममुकायम सचिव हुनुअघि उनले परराष्ट्र मन्त्रालयमा प्रवक्ताको जिम्मेवारी पनि सम्हालेका थिए ।
उनीसँग सन् २०२३ को अप्रिलदेखि जुनसम्म अल्पविकसित देशहरूका लागि ग्लोबल समन्वय ब्युरोको अध्यक्षको रूपमा रही काम गरेको अनुभव पनि छ ।
राईले डिसेम्बर २०१४ देखि डिसेम्बर २०१८ सम्म दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतको रूपमा पनि काम गरेका थिए ।
सन् २००८ देखि २०१२ सम्म उनले न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको लागि नेपाली स्थायी नियोगमा मिनिस्टर काउन्सिलरका रूपमा रही काम गरेका थिए ।
उप–सचिवको रूपमा उनले नोभेम्बर २००५ देखि नोभेम्बर २००८ सम्म संयुक्त राष्ट्र र अन्तर्राष्ट्रिय संगठन महाशाखा, बहुपक्षीय आर्थिक कूटनीति महाशाखा र परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्रीको सचिवालयमा पनि काम गरेका थिए ।
सार्वजनिक सेवाको प्रारम्भिक वर्षमा राईले सन् २००३ देखि २००५ सम्म संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको योजना महाशाखामा उपसचिवका रुपमा काम गरेका थिए । सन् २००२ देखि २००३ सम्म सामान्य प्रशासन मन्त्रालयमा पनि उनले काम गरेका थिए ।
सन् १९९६ मा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयमा शाखा अधिकृतको रुपमा निजामती सेवामा आफ्नो करियर सुरु गरेका थिए ।
परराष्ट्र सचिव राईले तीनवटा विषयमा स्नातकोत्तर गरेका छन् । उनले जर्मनीको पोट्सडाम विश्वविद्यालयबाट सार्वजनिक व्यवस्थापनमा ९२००२–२००३०, त्रिभुवन विश्वविद्यालयबाट सार्वजनिक प्रशासनमा ९१९९७–१९९८० र त्रिभुवन विश्वविद्यालयबाट बिज्नेस एड्मिनिस्ट्रसन् ९१९९२–१९९३० मास्नातकोत्तर गरेका छन् । राईको जन्म सन् १९७० मा संखुवासभाको चिचिला गाउँपालिकामा भएको हो ।